वीरगन्ज । वीरगञ्ज महानगरपालिका – ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता तथा वडाध्यक्षका प्रत्याशी दीपक महतोले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
उनीसँगै स्थानीय नेता शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली काँग्रेसका नेता सियाराम नेपाली लगायत सयौं स्थानीयहरूले विभिन्न राजनीतिक दल त्यागेर एमालेमा सामेल भएका छन् ।
नवप्रवेशीहरूलाई नेकपा ९एमाले० का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दीपक महतो र शिवजी गुप्ता जस्ता नेताहरूको प्रवेशले वीरगञ्ज वडा नम्बर ७ मा एमालेको स्थिति थप मजबुत भएको बताए । उनले भने, “यो प्रवेशले हाम्रो पार्टीको आधारलाई थप सशक्त बनाएको छ ।”
यादवले कार्यक्रममा बोल्दै आगामी निर्वाचनलाई ‘देश जलाउने र देश जोगाउने बीचको प्रतिस्पर्धा’ को रूपमा व्याख्या गरे । उनले राष्ट्रियता, संघीयता र अखण्डताको रक्षा गर्न एमालेलाई मतदान गर्न स्थानीयहरूलाई आग्रह गरे । “देश जलिरहेको बेला सबै लुकेर बस्दा देश र जनताको पक्षमा बोल्ने पहिलो व्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ,” यादवले भने । उनले ओली जस्ता नेताको आवश्यकता रहेको दाबी गर्दै ओली भावी प्रधानमन्त्री बने मात्र वैदेशिक हस्तक्षेप रोकिने बताए ।
यादवले नेपाली काँग्रेसप्रति कडा टिप्पणी गर्दै काँग्रेसलाई ‘दास र लासको पार्टी’ को संज्ञा दिए । “काँग्रेसले आफूलाई नयाँ भनेर प्रचार गरिरहे पनि वास्तवमा यो पटक–पटक निर्वाचन लड्ने व्यक्तिहरूलाई टिकट दिएर आफ्नो चरित्र प्रमाणित गरेको छ,” उनले भने ।
पर्सा क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवारलाई “व्यवसायी पृष्ठभूमिबाट आएका व्यक्ति” भन्दै यादवले उनको राजनीतिक योगदान र समाजसेवामा प्रश्न उठाए । “पाँच वर्षसम्म आफ्नो व्यवसायमा व्यस्त रहने अनि निर्वाचनको बेला मत माग्न आउने गर्छन् । अब उनि मत माग्न आए पाँच वर्षसम्म उनि कहाँ थिए भनेर प्रश्न गर्नुहोला,” यादवले भने ।
यसअघि पर्सा – १ बाट सांसद निर्वाचित भएर आफूले गरेको विकास निर्माण र परोपकारी कामहरूको विषयमा जानकारी गराउँदै पूर्व मन्त्री समेत रहेका यादवले काम गर्ने नेतालाई छान्न आग्रह गरे ।