वीरगञ्ज। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलमा हुन सक्ने झडप तथा हुलहुज्जत नियन्त्रणका लागि सुरक्षा अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। अभ्यास वीरगञ्जस्थित सिद्धार्थ स्कुल परिसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा जिल्ला निर्वाचन कार्यालय पर्सा का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभ्यास पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला निर्वाचन कार्यालय पर्साकी निर्वाचन अधिकृत अनामिका रौनियारको उपस्थितिमा संयुक्त रूपमा सञ्चालन गरिएको थियो।
अभ्यासका क्रममा मतदानस्थलमा सम्भावित विवाद, झडप, भीड नियन्त्रण तथा मतपेटिका सुरक्षासम्बन्धी परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूले रणनीतिक प्रस्तुति दिएका थिए। सहभागी निकायहरूले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र तयारीलाई थप सुदृढ बनाइएको जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनका क्रममा कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको बताए। निर्वाचन अधिकृत रौनियारले मतदानस्थलको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर आवश्यक पूर्वतयारी गरिएको उल्लेख गरिन्।
पर्सा जिल्लामा आगामी निर्वाचन सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन यस्तो सुरक्षा अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।