नेकपा एमालको वृहत चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रम बहुदरमाई नगरपालिका–५ डोकैला चौकमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका सदस्य एवं एमाले नेतृ रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठ, एमाले केन्द्रीय सदस्य विजय सरावगी, मोबिन आलम, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तेली, एमाले युवा नेता एवं संखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यशवन्त यादव, शिव पटेल लगायतले धारणा राखेका थिए।
वक्ताहरूले स्थिर सरकार निर्माणका लागि एमाले उम्मेदवारलाई विजयी गराउन मतदातासँग अपिल गरे। उनीहरूले पर्सा क्षेत्र नम्बर–२ ले सक्षम, शिक्षित र योग्य उम्मेदवार पाएको उल्लेख गर्दै यसपालि रिमा यादवलाई जिताउन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा यादवले मधेशका समस्या र मधेशी महिलाले भोगेका पीडा संसदमा उठाउन आफू राजनीतिमा आएको बताइन्। उनले क्षेत्रको विकासका लागि बोलेरभन्दा गरेर देखाउने नेतृत्व दिन चाहेको भन्दै फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरिन्।

यसैबीच नेपाली कांग्रेस पर्सागढी नगरपालिका–६ का बुथसभापति काशि यादवको नेतृत्वमा करिब २५० जना एमालेमा प्रवेश गरेका छन्। कांग्रेसमा प्रभावशाली मानिएका यादवसहितको प्रवेशले सो वडामा एमाले थप मजबुत बनेको दाबी गरिएको छ। नवप्रवेशीहरूलाई प्रमुख अतिथि झाक्री र उम्मेदवार यादवले फूलमाला तथा गम्छा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, प्रदेश सभा सदस्य देवनारायण चौधरी, युवा नेता अकलेश साह लगायत हजारौं नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। स्थानीय युवा नेता कृष्णा यादवले स्वागत गरेको कार्यक्रमको सहजीकरण पर्सा जिल्ला सचिव महेश दासले गरेका थिए।