वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ सबैठवामा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवको पक्षमा व्यापक घरदैलो अभियान सम्पन्न भएको छ। स्थानीय नेताहरूको पहलमा आयोजित कार्यक्रमअन्तर्गत नेता तथा कार्यकर्ताहरू टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।
घरदैलोका क्रममा विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै उम्मेदवार यादवलाई विजयी बनाउन अपिल गरिएको थियो। नेताहरूले पर्सा–१ को समग्र विकासका लागि स्थिर र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा समर्थन जनाउन आग्रह गरे।
मतदातासँगको संवादमा स्थानीय बासिन्दाहरूले सडक, ढल निकास, खानेपानी, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्या तथा आवश्यकताबारे धारणा राखेका थिए। उम्मेदवार पक्षले ती मुद्दालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
घरदैलो अभियानसँगै वीरगञ्ज–२३ क्षेत्रमा चुनावी माहोल थप तातेको आयोजकहरूको दाबी छ। आगामी दिनमा पनि जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको पक्षमा वातावरण निर्माण गरिने बताइएको छ।
उक्त अवसरमा समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्ष अवधकिशोर कुस्वाहा, जय राम साह गोढ, अमल यादव, कृष्णा कुशवाहा, कैलाश महतो लगायतको उपस्थिति रहेको थियो।