वीरगञ्ज, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२८ बगहीका दर्जनौं युवाहरू विभिन्न राजनीतिक दल परित्याग गर्दै नेकपा ९एमाले० मा प्रवेश गरेका छन्। सोमबार आयोजित स्वागत कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्वमेयर विजय सरावगी र प्रतिनिधिसभा उम्मेदवार रीमा यादव ले नवप्रवेशी युवाहरूलाई अबिर–टिका लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै सरावगीले युवाहरूको एमालेप्रति बढ्दो विश्वासले पार्टीलाई आगामी निर्वाचनमा थप सशक्त बनाउने बताए। “देश र मधेशको समृद्धि युवाको सक्रिय सहभागिताबाट मात्रै सम्भव हुन्छ,” उनले भने, “एमालेले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै युवाका लागि अवसर विस्तार गर्ने नीति लिएको छ।”
उम्मेदवार यादवले पर्सा–२ को समग्र विकासमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै युवाहरूको साथले आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणमा गति आउने विश्वास व्यक्त गरिन्। “बगहीका युवाहरूले एमाले रोज्नु भनेको विकास र स्थायित्व रोज्नु हो,” उनले भनिन्, “हामी सबै मिलेर पर्सा–२ लाई समृद्ध र सुरक्षित बनाउनेछौं।”
नवप्रवेशी युवाहरूले एमालेको नीति, नेतृत्व र विकासमुखी कार्यक्रमबाट प्रभावित भएर पार्टी रोजेको बताएका छन्। उनीहरूले क्षेत्रको रोजगारी, सडक, शिक्षा, स्वास्थ्य तथा खेलकुद पूर्वाधार विकासमा पार्टीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले पर्सा–२ मा पछिल्लो समय युवाको आकर्षण एमालेतर्फ बढ्दै गएको बताउँदै आगामी निर्वाचनमा पार्टीको पक्षमा जनसमर्थन अझै विस्तार हुने विश्वास व्यक्त गरेका थिए।