मुम्बई । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाको प्रि-वेडिङ समारोह (विवाहपूर्वको उत्सव) चलिरहेको छ । खुसीको माहोलबीच यसपटक क्रिकेटको रमाइलो पनि थपिएको छ । संगीत समारोहमा विजयकी आमाले रश्मिकालाई खानदानी कंगन उपहार दिएकी छन् ।
विवाह समारोहको सुरुआत अलि फरक र निकै निजी ढंगले गरिएको छ । परम्परागत प्रि(वेडिङ कार्यक्रमको सट्टा, सुरुआत खेलकुदबाट गरिएको हो । उदयपुरस्थित विवाह स्थललाई नै लाइभ क्रिकेट खेल्ने मैदानमा रूपान्तरण गरिएको थियो । दुवै कलाकारले यसका केही झलक सामाजिक सञ्जालमा पनि साझा गरेका छन् ।
यस विशेष व्यवस्थाले दुवै पक्षका परिवार र साथीहरूलाई खेलमार्फत सँगै समय बिताउने अवसर दिएको छ । मैदानको बीचमा दुवै टोलीका लागि एउटै नाम राखिएको थियो– भिरोस प्रिमियर लिग ।’ यस खेलमा रश्मिका र विजयका आफन्त तथा नजिकका व्यक्तिहरू सहभागी भएका थिए, जसले विवाहको माहोललाई खेलकुदमय बनाएको थियो ।
यो विवाह फेब्रुअरी २६ मा उदयपुरस्थित ‘द मोमेंटोज बाइ आईटीसी होटल्स’ मा हुँदैछ । सबै अतिथि फेब्रुअरी २३ मै त्यहाँ पुगिसकेका छन् । विवाहअघि हुने रमझम पनि सुरु भइसकेको जानकारी बाहिरिएको छ ।
खेलकुदले भरिएको कार्यक्रमपछि हल्दी र संगीतजस्ता परम्परागत कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताइएको छ । विवाहपछि मार्च ४ मा हैदराबादमा भव्य स्वागत समारोह (रिसेप्शन) आयोजना गरिने जनाइएको छ ।
विवाह समारोह उदयपुरमा संगीत कार्यक्रमसँगै सुरु भएको छ । ‘इन्डिया टुडे’को रिपोर्टअनुसार विजयकी आमा माधवीले हुनेवाली बुहारी रश्मिकालाई खानदानी चूडियाँ उपहारस्वरूप दिएकी छन् । त्यसपछि त्यहाँको माहोल निकै भावुक बनेको बताइएको छ ।
विजय र रश्मिका पहिलो पटक सन् २०१८ को तेलुगु सुपरहिट फिल्म ‘गीता गोविन्दम’ मा सँगै देखिएका थिए । पर्दामा उनीहरूको केमेस्ट्रीलाई दर्शकले निकै मन पराएका थिए । त्यसपछि उनीहरू सन् २०१९ मा ‘डियर कमरेड’ मा पनि सँगै देखिएका थिए ।
अब फेरि रश्मिका र विजय राहुल सांकृत्यान निर्देशित पिरियड एक्शन ड्रामा ‘रानाबली’ मा एकसाथ देखिनेछन् । यस फिल्ममा सन् १९९९ को हलिउड फिल्म ‘द ममी’ का खलनायक अर्नोल्ड वोस्लू पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।