पर्सागढी नगरपालिकामा जनमत र कांग्रेस पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्ने नेताहरूले आगामी निर्वाचनमा पर्सा–२ की उम्मेदवार रीमा कुमारी यादवलाई जिताउन एकढिका भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
वीरगञ्ज–१० का एमाले नेता प्रमोद गुप्ता, अंगद गुप्ता र अजय गुप्ताको पहलमा बुधबार आयोजित कार्यक्रममा पर्सागढी नगरपालिकामा ठूलो संख्यामा पार्टी प्रवेश भएको हो।
जनमत पार्टीका पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। त्यसैगरी नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनभन्दा बढी नेता एमालेमा समाहित भएका छन्।
पार्टी प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी, राजकुमारी देवीलगायत रहेका छन्। उनीहरूलाई एमालेका केन्द्रीय सदस्य विजय सरावगी, प्रदेश उपाध्यक्ष बिचारी यादवलगायतका नेताहरूले अबिर–टिका र गम्छा लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नेताहरूले मधेशको विकास र स्थायित्वका लागि रीमा यादवलाई जिताउन आवश्यक रहेको बताए।
“पर्सा–२ को समृद्धि र जनताको अधिकारका लागि रीमा यादवलाई विजयी गराउन हामी सबै एकढिका भएर लाग्नेछौं,” प्रवेश गर्ने नेताहरूले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गरे।
एमाले नेताहरूले पार्टीमा भइरहेको प्रवेशले पर्सा क्षेत्रमा एमालेको जनाधार अझै बलियो भएको र आगामी निर्वाचनमा यसको सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन्।