पर्सागढी नगरपालिका–६ चैनपुरका दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका स्थानीय दिग्गज नेता प्रयाग यादव, जोधा यादव, ब्रम्हदेव यादव, रामेश्वर यादव, मेघु राय, रामबाबु साह, ढोरा सहनी, मोहिपाल राउत, दिलिप सिंह, सिकेन्द्र रामलगायत एमालेमा प्रवेश गरेका हुन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी गायत्री देवी सहनी, सरिता देवी राम, सुरेन्द्र यादव लगायत पनि एमालेमा आबद्ध भएका छन्। वडा नम्बर ६ का बुथ सभापति काशी यादवको पहलमा उनीहरू पार्टी प्रवेश गरेको जनाइएको छ।

नवप्रवेशीलाई एमाले मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव तथा उम्मेदवार रिमा यादवलगायत नेताहरूले अबिर–टिका लगाएर स्वागत गरेका थिए।
स्थानीय स्तरमा काँग्रेसका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेपछि चैनपुर क्षेत्रमा काँग्रेस कमजोर बन्दै गएको राजनीतिक विश्लेषण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले पार्टी प्रवेशले संगठन थप मजबुत बनेको बताउँदै आगामी फागुन २१ गते सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरिन्।
स्थानीय राजनीतिक वृत्तमा यो प्रवेशलाई पर्सागढी क्षेत्रको चुनावी समीकरण बदल्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।