नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाले आगामी ५ वर्षभित्र वीरगञ्जमा १ खर्ब रुपैयाँ लगानी भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित आफ्नो ‘दश सूत्रीय प्रतिज्ञा पत्र’ सार्वजनिक गर्नुभएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उहाँले बेरोजगारी अन्त्य र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको हो। बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुङ्गटाले आफू पद र पैसाका लागि नभई विकास, सुशासन र पद्धतिका लागि चुनावी मैदानमा उत्रिएको दाबी गर्नुभयो। “अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ,” उहाँले भन्नुभयो।
‘पहिले पानी’ अभियान : रुङ्गटाले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिनुभएको छ। १०० दिनभित्र पानीको नक्साङ्कन तथा अडिट, बिग्रिएका धारा मर्मत, वर्षाको पानी पुनर्भरण र सिरसिया नदी संरक्षण कार्यक्रम सुरु गरिने योजना सार्वजनिक गरिएको छ।
स्वास्थ्य र शिक्षामा संरचनागत सुधार स्वास्थ्यतर्फ नारायणी अस्पतालको स्तरोन्नति, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना, आधुनिक ट्रमा सेन्टर र प्रसूति सेवा सुदृढीकरण गर्ने योजना उहाँले अघि सार्नुभएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल पूर्वाधार विकास र उद्योगसँग जोडिएको ‘पोलिटेक्निक इन्स्टिच्युट’ स्थापना प्राथमिकतामा राखिएको छ। “किताब मात्र होइन, सीप पनि आवश्यक छ,” उहाँले जोड दिनुभयो।
१ खर्ब लगानी, ४ हजार रोजगारी ‘वीरगञ्ज आर्थिक स्वतन्त्रता योजना’ अन्तर्गत विशेष वित्तीय क्षेत्रको पहल गर्दै १ खर्ब रुपैयाँ बराबरको औद्योगिक लगानी भित्र्याउने दाबी गरिएको छ। यसबाट करिब ४ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने र स्थानीय युवालाई प्राथमिकता दिइने प्रतिज्ञा गरिएको छ।
युवा र महिला लक्षित कार्यक्रम युवाहरूका लागि ‘युवा उडान कार्यक्रम’, सहुलियत कर्जा र लागुऔषधविरुद्ध संरक्षण अभियान सञ्चालन गरिने बताइएको छ। महिला सुरक्षाका लागि सडक बत्ती विस्तार, मातृ स्वास्थ्य सेवा सुदृढीकरण र महिला उद्यम प्रवर्द्धन कार्यक्रमहरू पनि प्रतिज्ञा पत्रमा समेटिएका छन्।
‘स्वच्छ शासन’ को प्रतिबद्धता रुङ्गटाले निर्वाचित भएपछि आफ्नो कार्यालयलाई ‘जनता कार्यालय’ का रूपमा सञ्चालन गर्ने र १५ दिनभित्र जनताका उजुरीको जवाफ दिने प्रणाली बसाल्ने घोषणा गर्नुभएको छ। “नेपाली कांग्रेस मेरो आधार हो, तर पर्सा–१ मेरो प्राथमिकता हो,” रुङ्गटाले भन्नुभयो, “वीरगञ्जले सधैँ देशलाई अघि बढायो, अब वीरगञ्ज आफैँ पनि सम्मानसहित अघि बढ्नुपर्छ।”