वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले पर्सा जिल्लामा आज शुक्रबारदेखि मदिरा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनको अन्तिम परिणाम घोषणा नहुँदासम्म मदिराको उत्पादन, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएको जनाएको छ।
मदिरा सेवनका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने तथा निर्वाचनको समग्र वातावरण प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार गृह मन्त्रालयको निर्देशन र निर्वाचन आयोगको मापदण्ड बमोजिम जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन मदिरा नियन्त्रण आवश्यक देखिएको प्रशासनको ठहर छ।
“निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। त्यसैले आजदेखि नै लागू हुने गरी मदिराजन्य पदार्थको कारोबार र सेवनमा पूर्ण प्रतिबन्ध लगाएका छौँ,” सहायक प्रजिअ पोखरेलले भने, “यो नियम चुनावी परिणाम सार्वजनिक नभएसम्म कायम रहनेछ।”
प्रशासनले जिल्लाभरका होटल, रेस्टुरेन्ट, पसल तथा भट्टीहरूलाई मदिराजन्य पदार्थको कारोबार नगर्न विशेष निर्देशन जारी गरेको छ। आदेशको अवज्ञा गरी मदिरा बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जारी आदेशअनुसार उक्त अवधिभर मदिराको उत्पादन, ढुवानी, बिक्री तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई हिरासतमा राख्ने र जरिवाना गर्ने व्यवस्था समेत गरिएको प्रशासनले जनाएको छ।
निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले विशेष निगरानी बढाएको छ। सीमावर्ती क्षेत्रमा अवैध मदिरा ओसारपसार रोक्न सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको बताइएको छ। जिल्ला प्रशासनले सबै व्यवसायी तथा सर्वसाधारणलाई शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न अपिल गरेको छ।