रौतहट निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार राजेशकुमार चौधरीले उल्लेख्य अग्रता बनाउँदै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् ।
चौधरी १४ सय ९९ मतका साथ पहिलो स्थानमा सुरक्षित देखिएका छन् ।
दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) का योगेन्द्र राय यादव छन्, उनले ६३१ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेद्वार अजय गुप्ता ३९९ मतसहित तेस्रो स्थानमा संघर्षरत छन् ।
चौथो स्थानमा नेपाली कांग्रेसका अनिलकुमार झा छन् ।
उनले ३६६ मत ल्याउँदा ‘हेभीवेट’ उम्मेद्वार मानिएका माधवकुमार नेपाल ३२० मतका साथ पाँचौ स्थानमा सीमित छन् ।
रास्वपाका चौधरीले शुरूआती चरणदेखि नै भारी मतका साथ अग्रता लिँदा जिल्लाको राजनीतिक समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ ।
नेपालका लागि यो प्रारम्भिक नतिजा निकै चुनौतीपूर्ण र अप्रत्याशित बनेको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना हाल शान्तिपूर्ण रूपमा जारी छ । अहिले केही वडाहरूको मात्र गणना सकिएको र बाँकी वडाहरूको परिणाम सार्वजनिक भएसँगै यो समीकरणमा फेरबदल आउन सक्ने अनुमान गरिएको छ ।
यद्यपि, रास्वपाको सुरुआती अग्रताले पुराना दलहरूलाई ठूलो दबाब सिर्जना गरेको छ ।