काठमाडौं । आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै राउतले वर्तमान चुनावी परिणामलाई क्षणिक ‘हावाहुरी’ को संज्ञा दिएका छन्। उनले एक–दुई वर्षभित्रै जनताको समर्थन पुनः आफ्नै पार्टीतिर फर्किने विश्वास व्यक्त गरेका छन्।
देशभरि नयाँ राजनीतिक शक्तिहरूको उभार र स्थापित दलहरूप्रतिको बढ्दो वितृष्णाले आफ्नो पार्टीले पनि केही क्षति व्यहोर्नुपरेको उनको भनाइ छ। राउतका अनुसार यो कुनै नेता वा उम्मेदवारको कमजोरी नभई ‘विशेष परिस्थितिको उपज’ हो।
उनले ७०–८० वर्षको इतिहास बोकेका ठूला दलदेखि मधेस आन्दोलनबाट आएका अन्य पार्टीहरूको अवस्था पनि यतिबेला लगभग उस्तै रहेको उल्लेख गरेका छन्।
कार्यकर्तालाई सान्त्वना दिँदै राउतले चुनावी परिणामलाई व्यक्तिगत कमजोरीको रूपमा नलिएर परिस्थितिजन्य रूपमा स्वीकार गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “जनताले दिएको आदेशलाई स्वीकार गरौँ, जितेकाहरूलाई सरकार चलाउन दिऔँ। अलिकति पनि निराश हुनुपर्ने कारण छैन।”
राउतले अहिले नयाँ दलप्रति देखिएको जनआकर्षण लामो समय टिक्ने सम्भावना कम रहेको संकेत गर्दै पार्टीलाई आफ्नो सिद्धान्त र एजेन्डामा अडिग रहन आग्रह गरेका छन्।
“एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ। फेरि जनता हामीतिरै आउँछन्,” उनले लेखेका छन्, “हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेन्डाले हामीलाई चिरकालसम्म समाजमा जीवित राख्छ।”
साथै उनले हारको विषयलाई लिएर अनावश्यक विश्लेषण र बहसमा नअल्झिन तथा पार्टीभित्र वा बाहिर कसैमाथि आरोप–प्रत्यारोप नगर्न निर्देशन दिएका छन्। राउतले गाउँठाउँमा सबैसँग विनम्र भएर प्रस्तुत हुन, कसैप्रति रुखो भाषा प्रयोग नगर्न र जनताको सेवा निरन्तर जारी राख्न नेता–कार्यकर्तालाई अपिलसमेत गरेका छन्।