वीरगञ्ज– पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सुशील कुमार साहलाई माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले अविर तथा फुलमालासहित भव्य स्वागत गर्नुभएको छ।
स्वागत समारोहका क्रममा अध्यक्ष श्रीवास्तवले नवनिर्वाचित सांसद साहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकाल सफल बनाउने प्रेरणा दिने आशा व्यक्त गर्नुभएको थियो। उहाँले पर्सा क्षेत्र नम्बर २ का जनताहरूले राखेका उच्च अपेक्षाहरू पूरा गर्न सांसदले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नु आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष श्रीवास्तवले भने, “यहाँका जनताहरू वर्षौंदेखि पिल्सिएका छन्, त्यसैले आशा र भरोसाका केन्द्र आफूमा रहेकोले त्यो विश्वास टुट्न नदिनुपर्छ।”
उक्त अवसरमा नवनिर्वाचित सांसद साहले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “म जनताको विश्वास कहिले पनि टुट्न नदिनेछु। दिनरात यहाँका जनताको अपेक्षा र विश्वासलाई आत्मसाथ गर्दै अगाडि बढ्नेछु। पर्सा क्षेत्र नम्बर २ का जनताहरूको भारी मतले मलाई विजयी बनाएको छ, र म त्यस मतको पूर्ण कदर गर्दै सांसदको रूपमा काम गर्नेछु।”
सांसद साहले थपे, “यहाँ पटकपटक सांसद र मन्त्री भएर पनि केही नभएपछि म उम्मेदवारी दिएको हुँ। जनताहरूले मलाई रोज्नुको कारणले आधारभूत आवश्यकता–शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार–लाई प्राथमिकता दिँदै अघि बढ्ने अठोट गर्दछु।”
उक्त कार्यक्रममा जनताहरूको विश्वास र अपेक्षाप्रति सम्मान जनाउँदै सांसद साह र अध्यक्ष श्रीवास्तव बीच आत्मीयता र साझा प्रतिबद्धताको भावना प्रकट भएको थियो।