पर्सा— नेकपा एमाले पर्सा जिल्ला भित्र बढ्दै गएको असन्तुष्टि फेरि एकपटक सतहमा आएको छ। पकहामैनपुर गाउँपालिका कमिटीका उप–सचिव तथा अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ मधेश प्रदेशका प्रचार–प्रसार विभाग प्रमुख भगवान कुर्मी (कुन्नाल) पटेलले नेकप एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै पार्टी नेतृत्वमाथि कडा आक्रमण गरेका छन।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले पार्टी ठेकेदारी प्रथाबाट चलिरहेको आरोप लगाउँदै यही प्रवृत्तिका कारण पर्सामा एमाले कमजोर बन्दै गएको बताएका छन। उनका अनुसार पार्टीभित्र निडर, निस्वार्थ र इमानदारीपूर्वक काम गर्ने कार्यकर्ताहरूलाई निरन्तर अपमान र अवहेलनाको शिकार बनाइएको छ।
पटेलले स्पष्ट शब्दमा भनेका छन, कि राजनीतिक पार्टी वा संगठन ठेकेदारहरूको नियन्त्रणमा चल्न नसक्ने भए पनि पर्सामा भने यही प्रवृत्तिले जरो गाडेको छ। उनले पार्टीभित्रको अवस्थालाई “दुर्भाग्यपूर्ण” भन्दै सच्चा कार्यकर्तालाई पाखा लगाइएको आरोप लगाए।
यही परिस्थितिका कारण आफूले आजकै मितिदेखि नेकपा एमालेसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेको उनले जनाएका छन। पार्टीलाई “ठेकेदार प्रवृत्तिका व्यक्तिहरूको जिम्मामा छोड्दै” आफू मुक्त भएको उनको भनाइ छ।
पटेलको यो घोषणाले पर्सामा एमालेभित्रको आन्तरिक कलह र असन्तुष्टि झन् चर्किएको संकेत दिएको छ। स्थानीय तहदेखि जिल्ला तहसम्म लामो समयदेखि चलिरहेको गुटबन्दी, नातावाद र आर्थिक चलखेलका आरोपबीच एकपछि अर्को युवा नेताको असन्तुष्टि सार्वजनिक हुन थालेपछि पर्सामा एमाले संगठन थप दबाबमा परेको देखिएको छ।
पार्टी नेतृत्वले समयमै असन्तुष्ट कार्यकर्ताको आवाज सम्बोधन गर्न नसके आगामी दिनमा पर्सा जिल्लामा एमालेले अझ ठूलो क्षति व्यहोर्नुपर्ने सम्भावना देखिएको छ।