अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले मोजतबा खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको हो ।
उसले निकालेको सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी अली लारीजानी, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत छन् । यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सर्बोच्च नेता आयातुल्लाह खामेनीको ज्यान गएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा उहाँले अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली मध्येको कारबाही पूरा गरेको र खार्ग द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको उल्लेख गर्नुभएको छ ।
बीबीसीका अनुसार खार्ग द्वीप इरानको झण्डै ९० प्रतिशत तेल निर्यातको केन्द्र हो र तेहरानको अर्थव्यवस्थाका लागि यसलाई जीवनरेखा नै मानिन्छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायलको संयुक्त आक्रमण इरानमा शुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ । मध्यपूर्वमा तनाव कायमै छ ।
इरान र हिज्बुल्लाहले पनि इजरायलमा संयुक्त आक्रमण गरेको विवरण आएको बीबीसीले उल्लेख गरेको छ । जवाफमा इजरायलबाट लेबनान र इरानका कतिपय क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
यसैबीच यूएईले आफ्नो देशको हवाई सुरक्षा, विस्फोटन र आक्रमणबारेका झुटा भिडिओ क्लिपहरू प्रकाशित वा सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।एजेन्सी