वीरगंज पब्लिक सेकेन्डरी स्कुलले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई भव्य कार्यक्रमका बीच बुधबार बिदाई गरेको छ। वीरगंज कलेजको सभाहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै औपचारिक रूपमा बिदाई गरिएको हो।
विद्यालय जीवनको एक महत्वपूर्ण चरण पूरा गरी उच्च शिक्षातर्फ अघि बढ्न लागेका विद्यार्थीहरूका लागि आयोजना गरिएको कार्यक्रममा भावुक तथा उत्साहपूर्ण वातावरण देखिएको थियो। कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूको योगदान, अनुशासन र उपलब्धिहरूको चर्चा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक हरीरत्न तुलाधरको अध्यक्षता तथा बिपीएसका कार्यकारी निर्देशक युगल किशोरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि किशोरले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति प्रतिबद्ध रहन सुझाव दिँदै आगामी यात्रामा सफलता हासिल गर्न प्रेरित गरेका थिए।
त्यसैगरी, कलेजका ब्राण्ड एम्बेस्डर देवेश मानव सेवा, आदर्श स्कुलका राम बिनोद पाण्डे, तथा विद्यालयका शिक्षक आमोद पाण्डे लगायतले पनि मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिन्हो प्रदान गरिएको थियो। शिक्षक तथा विद्यार्थीबीचका स्मरणीय क्षणहरू साटासाट गर्दै कार्यक्रम भावनात्मक बनेको थियो। केही विद्यार्थीहरूले आफ्नो विद्यालय जीवनका अनुभवहरू सुनाउँदै शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए।
यसैबीच, विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमलाई अझै आकर्षक बनाएका थिए। नृत्य, गीत तथा हास्य प्रस्तुति मार्फत उनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
