वीरगंज –७ स्थित रेलबे रोड कुम्हालटोलमा रहेको पंचमुखी हनुमान मन्दिरमा वैशाख ९ गतेदेखि १७ गतेसम्म भव्य रूपमा श्री श्री १०८ श्री राम महायज्ञ एवं भव्य श्रीराम कथा आयोजना हुने भएको छ। यज्ञ समितिले मंगलबार यज्ञ स्थलमै आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ९ दिने महायज्ञबारे जानकारी दिएको हो।
महायज्ञअन्तर्गत हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म बेदी पूजन तथा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म श्रीराम कथा वाचन गरिनेछ। काशीबाट आएका कथा वाचक पूज्य श्री मधुकर जी महाराजद्वारा दैनिक कथा वाचन गरिने आयोजकले जनाएको छ।
यज्ञमा देनिक भण्डारा हुने तथा समापन हुने दिन वैशाख १७ गते महाप्रसाद वितरणका गरिने छ । । महायज्ञ सञ्चालनका लागि करिब १५ देखि १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने सो रकम स्थानीय तथा छिमेकी गाउँबाट चन्दा संकलनमार्फत जुटाइएको जानकारी दिइएको छ।
हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा तथा श्रीराम कथा आयोजक समितिका संयोजक गौरी प्रसाद गुप्ताको संयोजनमा सम्पन्न पत्रकार सम्मेलनमा स्वामी राजीव रंजन भारद्वाजले महायज्ञबारे प्रष्ट पारेका थिए। कलश यात्रा यज्ञ स्थलबाट सुरु भई नगर परिक्रमा गर्दै घडिअर्वा पोखरीमा जल भर्ने तथा पुनः नगर परिक्रमा गर्दै यज्ञ स्थलमै फर्किने कार्यक्रम रहेको स्वामी राजीव रंजन भारद्वाजले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा गौरी प्रसाद गुप्ता, श्रवण बहादुर रायमाझी, दीपक गुप्ता, अभिलाष गुप्ता, अमर सर्राफ, रामु रायमाझी, नवल श्रीवास्तव, नन्दलाल यादव र मनोज मिश्रालगायतको उपस्थिति रहेको थियो।