वीरगञ्ज, ०८ जेठ - जिल्ला प्रहरी कार्यालय पर्सा एवं सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीद्वारा वीरगञ्जस्थित मुन लाइट सेकेन्डरी स्कुलमा प्रभावकारी साइबर अपराध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा साइबर सुरक्षा, डिजिटल जिम्मेवारी तथा अनलाइनमार्फत बढिरहेका विभिन्न जोखिमबारे जानकारी प्रदान गरिएको थियो। अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई जिम्मेवार, सचेत तथा सुरक्षित डिजिटल नागरिक बन्न प्रेरित गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम विद्यालयका संस्थापक तथा सञ्चालक श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका निर्देशक सुल्भ केसी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन विद्यालय प्रशासनले पुर्याएको सहयोग, आतिथ्यता तथा समन्वयप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमको नेतृत्व अंकित झाद्वारा गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोनी नेम्हाफुकीले प्रशिक्षण प्रदान गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिएसपी राजु कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग बढ्दै गइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार ढंगले डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरे। उनले साइबर अपराधबाट बच्न व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित लिंक तथा सन्देशप्रति सतर्क रहन र कुनै पनि अनलाइन गतिविधिमा विवेकपूर्ण निर्णय लिनुपर्ने बताए।
उनले युवापुस्तालाई प्रविधिको सही उपयोग गर्दै सकारात्मक र सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्दै साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
“सुरक्षित, सचेत र साइबर–साक्षर समाज निर्माणतर्फ हामी सबैको साझा प्रयास” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।