प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको कृष्णासेन इच्छुक स्मृति पुरस्कार तथा क्रियाशील पत्रकारिता पुरस्कार शनिबार एक विशेष समारोहका बीच प्रदान गरेको छ।
यस वर्षको कृष्णासेन इच्छुक स्मृति पुरस्कारबाट प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर पर्साका सदस्य बलिराम यादव सम्मानित भएका हुन्।सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले जनही नगद २१ हजार सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मानित गर्नुभयो।
सम्मान समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा सामाजिक उत्तरदायित्व निर्वाहमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, युनियन पर्साका अध्यक्ष बिजय चौहान,क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार ,समाजवादी प्रेस संगठनका शम्भु कुमार सुमन, लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रेस सेन्टर नेपाल पर्साले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरूको सम्मान तथा प्रोत्साहनका लागि हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको जनाएको छ। सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अजित भुजेलले गरेका थिए ।
