आर्थिक विकास र लोकतन्त्रबीचको अन्तरसम्बन्ध, वर्तमान चुनौती तथा सम्भावनाका विषयमा केन्द्रित सार्वजनिक संवाद कार्यक्रम मंगलबार वीरगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालमा आर्थिक विकास र लोकतान्त्रिक अभ्याससम्बन्धी लामो समयदेखि चल्दै आएको बहस, हालैको युवा आन्दोलनले उठाएका सवाल तथा आर्थिक–राजनीतिक क्षेत्रका विद्यमान चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। संवादमा वरिष्ठ अर्थशास्त्री तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. अच्युत वाग्ले, एफईईएस नेपालकी पवित्रा राउत, ठाकुरराम बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विनय मिश्रा, सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशक सुषमा तिवारी, नेपाल टेलिभिजनकी आरती चटौत, वीरगञ्ज कलेजका अध्यक्ष दीपेन्द्रकुमार चौधरी, पृथ्वीनारायण क्याम्पस पोखराका सहायक प्राध्यापक डा. कपिल अधिकारी तथा ठाकुरराम क्याम्पसका लक्ष्मी कर्णलगायतले धारणा राखेका थिए।
वक्ताहरूले आर्थिक विकासका सूचकमा सुधार देखिए पनि त्यसको प्रतिफल समाजका सबै वर्गमा समान रूपमा पुग्न नसकेको बताएका थिए। लोकतान्त्रिक प्रणालीले नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले लोकतन्त्रलाई थप समावेशी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा राजनीतिक प्रतिबद्धता र आर्थिक विकासबीचको अन्तर, बढ्दो सामाजिक विभाजन, डिजिटल राजनीतिको प्रभाव तथा विश्वव्यापी रूपमा देखिएको जनप्रियतावादी (पपुलिस्ट) प्रवृत्तिबारे पनि विचार आदानप्रदान गरिएको थियो।
वक्ताहरूले सामाजिक न्याय, लैङ्गिक समानता, समावेशिता तथा सबै नागरिकका लागि समान अवसर सुनिश्चित नगरी लोकतन्त्रलाई दिगो बनाउन नसकिने धारणा व्यक्त गरे। आर्थिक समृद्धि र राजनीतिक अधिकारबीच सन्तुलन कायम गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको उनीहरूको भनाइ थियो।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य आर्थिक विकास र लोकतान्त्रिकीकरण प्रक्रियासँग सम्बन्धित विषय तथा चुनौतीहरूको अध्ययन गरी प्राप्त सुझावलाई नीतिगत तहमा प्रतिबिम्बित गराउनु हो।
संवाद कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।