मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बिहिबार वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्य तथा मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश तथा विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे राखेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सहभागी सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गरेका थिए। उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक दायित्व तथा डिजिटल युगमा देखिएका चुनौतीका विषयमा विस्तृत जानकारी दिएका थिए।
प्रशिक्षणका क्रममा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण, साथै सामाजिक सञ्जालको जिम्मेवार प्रयोगलगायत विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको थियो।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभर सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।