वीरगंज महानगरपालिका–२३ स्थित ईटियाही टोलमा निर्माणाधीन कृष्ण मन्दिरको आइतबार मधेश प्रदेश सरकारका मन्त्री तथा पूर्व पदाधिकारीहरूले अवलोकन गरेका छन्।
प्रदेशस्तरीय बजेटबाट निर्माण भइरहेको उक्त मन्दिरको मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तात्वा, पूर्व मुख्यमन्त्री सरोज यादव, पूर्वमन्त्री प्रमोद जयसवाल तथा खेलकुद विकास समितिका सदस्य–सचिव शिवजी गुप्ताले अवलोकन गरेका हुन्।
संविधानसभा सदस्य बिचारी यादवको पहलमा मन्त्रीसहितको टोलीले निर्माणाधीन मन्दिरको स्थलगत अवलोकन गरेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिए ।
अवलोकनका क्रममा मन्त्री तात्वाले यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा संविधानसभा सदस्य बिचारी यादवले कृष्ण मन्दिरको सौन्दर्यकरणका लागि थप बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्दिर परिसरस्थित पोखरीको सौन्दर्यकरण तथा घाट निर्माणका लागि विशेष प्याकेज घोषणा गर्न माग गरे। उनले प्रसौनी बिर्तामा निर्माणाधीन मन्दिरका लागि बजेट विनियोजन गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै थप रकम उपलब्ध गराउन पनि अनुरोध गरे।
वडामा पहिलो पटक आएका मन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा सदस्य लालबाबु यादव, रामप्रसाद यादव, फुलबचनी देवी पासवान तथा कान्तिदेवी महतोले फूलमाला र गम्छा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र साह, किसान नेता अमल यादव, युवा नेता भोला यादव, मनोज यादव, सन्तोष यादव, राकेश साहलगायतको उपस्थिति रहेको थियो।