वीरगंज महानगरपालिका–१९ बिन्दवासिनी चोकमा बुधबार लेनदेन पीडित संघर्ष समिति पर्सा गठन गरिएको छ। लगानीकर्ताहरुलाई अन्यायपूर्ण रूपमा ‘मिटरब्याजी’को आरोप लगाएर बदनाम गरिएको दाबी गर्दै लेनदेन कार्यमा संलग्न व्यक्तिहरूले आफ्नो लगानीको संरक्षणका लागि समिति गठन गरेका हुन्।
समितिको अध्यक्षमा सुनिल पाण्डे चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा राजेश पटेल, सचिवमा सन्तोष कुमार, सहसचिवमा कबिराज पटेल, कोषाध्यक्षमा राजकुमार साह, सहकोषाध्यक्षमा म्यानेजर कुमार चौरसिया तथा सदस्यहरूमा श्यामसुन्दर यादव, मुकेश साह तेली लगायत चयन भएका छन्।
बैठकले समितिको सल्लाहकारमा दीपेन्द्र प्रसाद कुर्मी, वृजकिशोर प्रसाद कलवार, पशुराम कुमार द्विवेदी, मुकेश पटेल र दिनानाथ यादवलाई चयन गरेको जनाएको छ।
समिति गठनसँगै बसेको बैठकले आफ्ना माँगहरूको सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। समितिका अध्यक्ष सुनिल पाण्डेले माँग पूरा नभए जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने, भोक हड्ताल गर्ने, अनशन, विरोध प्रदर्शन तथा पत्रकार सम्मेलन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताए।
लेनदेनसम्बन्धी विषयमा सरकारले एकपक्षीय रूपमा निर्णय गरेको आरोप लगाउदै अध्यक्ष पाण्डेले एक पक्षको मात्र भनाइका आधारमा नौबुँदे सहमति गरिएको दाबी गर्दै उक्त सहमति तत्काल खारेज गर्न माग गरे। वास्तविक अवस्था नबुझी केही व्यक्तिका गतिविधिलाई आधार बनाएर सम्पूर्ण लेनदेन कार्यमा संग्लन व्यक्तिलाई ‘मिटरब्याजी’को रूपमा चित्रण गरिएको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए।
उनले आफूहरूमाथि जबर्जस्ती मिटरब्याजीको आरोप लगाइएको दाबी गर्दै सरकारले वास्तविक दोषी र कानुनी रूपमा लेनदेन गर्ने व्यक्तिबीच स्पष्ट भिन्नता छुट्याउन नसकेको बताए।
पाण्डेलेआफूहरू बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कानुनी प्रक्रियाअनुसार लगानी गर्ने र आवश्यक परेका बेला सर्वसाधारणलाई आर्थिक सहयोग उपलब्ध गराउने काम गर्दै आएको बताए ।
ूहामीले धेरै व्यक्तिलाई अप्ठ्यारो अवस्थामा आर्थिक सहयोग गरेका छौं। बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउने अवस्थामा हामीले सहयोग गरेका छौं। कतिपयले त्यही रकमबाट छोराछोरीको विवाह गरेका छन् भने कतिपयले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाएका छन्। तर अहिले हामीलाई अपराधीसरह व्यवहार गरिएको छ,उनले गुनासो गरे।