पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद भएको भन्दै उनका माइती पक्षले निष्पक्ष तथा प्रभावमुक्त छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माँग गरेको छ। रिपोर्टर्स क्लब नेपाल, वीरगंजले सोमबार बसपार्कस्थित होटल पशुपतिमा आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका परिवारजनले लक्ष्मीको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका हुन्। ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी दुई सन्तानकी आमा खड्का साउन ६ गते बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। तर उनलाई हत्या गरेर शव झुन्ड्याइएको माइती पक्षको आरोप छ।पत्रकार सम्मेलनमा मृतकका बुबा खड्गबहादुर खड्का, आमा देवकुमारी खड्का, मामा इन्द्रबहादुर बस्नेतलगायत आफन्तले घटनाको वास्तविकता सार्वजनिक गर्दै संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारसँग माँग गरे।
मृतककी आमा देवकुमारी खड्काले छोरीका श्रीमान् रेशमबहादुर सिलवाल, उनकी दिदी मिना सिलवाल अगस्ती तथा भिनाजु नवराज अगस्ती घटनामा संलग्न रहेको आरोप लगाइन्। उनले घटनालाई आत्महत्याको स्वरूप दिन खोजिएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताइन्।
मृतकका मामा इन्द्रबहादुर बस्नेतले आर्थिक लेनदेनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको उल्लेख गर्दै सोही कारण योजनाबद्ध रूपमा हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरे।
उनका अनुसार घटनास्थलको अवस्थाले पनि हत्या भएको आशंकालाई बल पुर्याएको छ। झुन्डिएको केही घण्टामै मृतकको अनुहार कालो देखिएको, भान्साकोठामा भाँडाकुँडा छरिएको तथा हातका चुरा फुटेको अवस्थाले घटनामाथि गम्भीर प्रश्न उठाएको उनले बताए।
माइती पक्षले चिकित्सकीय प्रतिवेदनमा आत्महत्या उल्लेख गरिए पनि त्यसप्रति असहमति जनाउँदै प्रतिवेदनले घटनाको वास्तविकता प्रतिबिम्बित नगरेको आरोप लगाएको छ। उनीहरूले योजनाबद्ध हत्या गरी आत्महत्याको रूप दिन खोजिएको दाबी दोहोर्याएका छन्।
पत्रकार सम्मेलनमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए। पीडित परिवारलाई न्याय दिलाउन स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।
परिवारका अनुसार घटनाको १३ दिन बितिसक्दा पनि उनीहरूले शव बुझेका छैनन्। दोषीमाथि कानुनी कारबाही र घटनाको वास्तविकता सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान परिवारले कायम राखेको छ।माइती पक्षले प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाउँदै स्वतन्त्र छानबिनको माग गरेको छ। न्याय नपाए आन्दोलन गर्ने र आवश्यक परे काठमाडौंसम्म पुगेर न्यायको खोजीमा जाने चेतावनी पनि परिवारले दिएको छ।
पत्रकार सम्मेलनमार्फत परिवारले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको स्वतन्त्र, निष्पक्ष तथा प्रभावमुक्त अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग पुनः आग्रह गरेको छ।