वीरगञ्ज, भदौ २४ - नेपाली युवा उद्यमी मञ्च ९एनवाईईएफ० वीरगञ्ज च्याप्टरले युवा उद्यमीहरूको ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘एनवाईईएफ एकेडेमी’ शुभारम्भ गरेको छ।
एकेडेमीको पहिलो कक्षा बुधबार वीरगञ्जमा सम्पन्न भएको हो। पहिलो सत्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगञ्जका प्रमुख अधिकृत सुनील चौरसिया स्रोत व्यक्ति रहेका थिए। उनले सहभागी युवा उद्यमीहरूलाई वाणिज्य, व्यवसाय सञ्चालनका व्यवहारिक पक्ष तथा उपभोक्ता संरक्षणसम्बन्धी विषयमा महत्वपूर्ण जानकारी र व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
कार्यक्रमको संयोजन सीए नरेश पटेलले गरेका थिए भने एनवाईईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहले समन्वय गरेका थिए।
कार्यक्रममा एनजीसी काठमाडौंका पवित्र गौतम, एनवाईईएफ वीरगञ्ज च्याप्टरका द्वितीय उपाध्यक्ष सुरज रुङ्गटा, स्टार्टअप चेयर अतुल राउतलगायत एनवाईईएफका सदस्य तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी अतिथि, एनवाईईएफका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता र सहयोगले पहिलो सत्र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
एनवाईईएफ वीरगञ्ज च्याप्टरले ‘एनवाईईएफ एकेडेमी’लाई युवा उद्यमीहरूका लागि निरन्तर सिकाइ, व्यावसायिक विकास, ज्ञान आदान–प्रदान तथा नेतृत्व क्षमता अभिवृद्धिको साझा मञ्चका रूपमा अघि बढाउने जनाएको छ।
एकेडेमीमार्फत युवा उद्यमीहरूलाई व्यवसायका विभिन्न पक्षबारे जानकारी प्रदान गर्नुका साथै उनीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम र व्यावसायिक रूपमा तयार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
च्याप्टरले पहिलो सत्र सञ्चालन गरी आफ्नो विशेषज्ञता साझा गरेकोमा स्रोत व्यक्ति सुनील चौरसियाप्रति आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी अतिथि, एनवाईईएफका नेतृत्वकर्ता, सदस्य तथा युवा उद्यमीहरूलाई पनि धन्यवाद दिएको छ।
एनवाईईएफ वीरगञ्ज च्याप्टरले युवा उद्यमीहरूको सशक्तीकरणका लागि सिकाइ, नेतृत्व, नेटवर्किङ र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा एकेडेमीका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।