काठमाडौं । सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रण गर्नका लागि खटिएका सशस्त्र प्रहरी बलका १४ अधिकृत छानबिनका लागि मुख्यालय तानिएका छन् । भन्सारछली तस्करी नियन्त्रण गर्न नसकेकोबारेमा गुनासा आएपछि उनीहरुलाई तानिएको बताइएको छ ।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा विभागले ठूलो परिमाणमा तस्करी गराएको आरोपमा उनीहरुलाई उनीहरुलाई छानबिनका लागि तानेको बताइएको छ । सशस्त्र मुख्यालयले ४ गणपति, ४ गुल्मपति र ६ बीओपीका इन्चार्जलाई छानबिनका लागि तानेको छ ।
सशस्त्र प्रहरी ३ नम्बर गणका एसपी विश्व खड्का, सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह, ८ नम्बर गण धनुषाका दर्शन गिरी र ३० नम्बर गण बाँकेका बिमल डाँगी छानबिनका लागि मुख्यालय तानिएका छन् ।
तस्करी बढेको ब्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् ।
त्यसैगरी, कपिलवस्तुको चाकरचौडा प्रस्तावित गुल्मका इन्चार्ज डीएसपी जयराम बस्नेत, कृष्णनगर गुल्मका शैलेन्द्र न्यौपाने पनि तानिएका छन् ।
भन्सार छली तस्करी बढेको र राजस्व असुली कम भएका समाचारहरु आउन थालेपछि सशस्त्र प्रहरीको नवराजपुर बीओपी सिरहाका रोशन थापा, सुनसरीको अमरडुवा बीओपीका प्रकाशबिक्रम कार्की, मोरङको नोचा बीओपीको जयबहादुर दथेपुथेलाई पनि छानबिनका लागि मुख्यालयमा तानेको छ ।
महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा, झापा तिरिङ बीओपीका खेमबहादुर कटुवाल तानिएका छन् ।