काठमाडौं– देशभरका अधिकांश स्थानीय तह (महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका)का वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेका छन् । कर्मचारीहरूमा सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएको विज्ञहरूले बताएका छन् ।
देशभरका केही पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूमा समेत असर परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले देशररीको स्थानीय तहका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘सुरूमा बाँसगढी नगरपालिकाको वेबसाइटमा ह्याकरले कब्जा जमायो। त्यसपछि बिस्तारै देशैभरका नगरपालिकाका वेबसाइटमा समस्या आएको छ । हाम्रा टेक्निकल टिमले हेरिरहेका छन्।’
प्रवक्ता पराजुलीका अनुसार स्थानीय तहको वेबसाइट दुई दिनदेखि नै समस्याग्रस्त भए पनि जानकारी ढिलो आएकाले रिकभर गर्न समय लागेको हो ।’ हामीले वेबसाइटको समस्या ढिलोगरी थाहा पायौं,’ उनले भने, ‘शुक्रबारसम्म हाम्रो टेक्निकल टिमले रिकभर गर्ला ।’ उनका अनुसार संघीय मामिला मन्त्रालयले युएनडीपीसँग मिलेर प्रादेशिक र स्थानीय सरकार सहायता कार्यक्रम (पीएलजीएसपी) अन्तर्गत देशभरका स्थानीय तहको वेबसाइट निर्माण गरेको थियो ।
एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख मनीष भट्टराईले स्थानीय तहका केही नगरपालिका तथा गाउँपालिका वेबसाइटहरू पाँच दिनअगाडि नै ब्याकअपसहित रिकभर गरेर नयाँ सिष्टम हालेर पठाए पनि ह्याकरले पहिले नै कमजोरी पत्ता लगाएकाले पुनस् आक्रमण गर्न सफल भएको बताए ।
उनले भने, ‘हामीले गत आइतबार नै केही नगरपालिका तथा गाउँपालिकाका वेबसाइटहरुमा समस्या आउँदा ब्याकअप नयाँ हालेर पठाएका थियौं। तर ह्याकरले कमजोरी पहिल्यै पत्ता लगाइसकेका हुनाले आक्रमण गरेर वेबसाइट कब्जामा लिई छाड्यो।’
स्थानीय तहको वेबसाइट डाउन हुँदा कार्यपालिकाको नियमिति कामकारबाहीमा असर परेको छ । कैलालीको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिषकुमार चौधरीले कार्यालयका नियमित सूचनाहरू, मन्त्रालयबाट आएका परिपत्रहरू र विज्ञापनहरू राख्न वेबसाइटमा राख्न नपाएको गुनासो गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले दुई दिनदेखि कार्यपालिकाकको नियमित सुचनाहरू राख्न पाएका छैनौँ। गाउँपालिकाका विज्ञापनहरू गर्नबाट बञ्चित भएका छौं। वेबसाइट कहिले खुल्ने हो थाहा छैन।’