भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।
उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।
विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शव गत आइतबार होस्टेलमा मृत्यु भएको अवस्थामा फेला परेको थियो । त्यसबेलादेखि उक्त विश्वविद्यालय अशान्त छ ।
लम्सालले आफूलाई कलेजमा अध्ययनरत एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् । तर विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।
आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी–लेखेटी कुटपिट गरेका थिए।
उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ।
छानबिनका लागि उच्चस्तरीय समिति बनिसकेको छ । नेपाली विद्यार्थी कुट्ने गार्डहरु पक्राउ परेका छन् भने प्रकृतिलाई मानसिक तनाव दिने आरोपी पक्राउ परिसकेका छन् ।
दुई देशबीच कूटनीतिक संवाद चलेसँगै नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्केर अध्ययन गर्न आग्रह गरिएको छ ।