काठमाडौं । नसर्ने रोग, लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथामका लागि भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिरहेको छ। तालिममा सातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले रोग लाग्न नदिने सबैभन्दा प्रभावकारी उपाय सचेतना र सशक्तीकरण भएको बताए। उनले विद्यालय र बालबालिकालाई यस अभियानको मेरुदण्ड बताउँदै शिक्षकलाई प्रशिक्षक बनाउनु महत्त्वपूर्ण कदम भएको उल्लेख गरे।
भास्कर–तेजश्री स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्ष प्रा.डा. रीता थापाले नवयुवाहरूलाई स्वस्थ राख्न र समतामूलक समाज निर्माण गर्न पहल गर्नु प्रतिष्ठानको उद्देश्य भएको बताइन्। उनले समाजमा हुने यौन दुव्र्यवहारको ८९ प्रतिशत घटनामा परिचित व्यक्तिहरू नै संलग्न हुने तथ्य प्रस्तुत गर्दै नवयुवाको सशक्तीकरण नै यसको रोकथामको उपाय भएको बताइन्।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सङ्गीता मिश्रले शिक्षा र स्वास्थ्य एकअर्कासँग निकट सम्बन्धित रहेको बताउँदै शिक्षकहरूलाई बालिकाहरूको संवेदनशीलतालाई बुझ्न आग्रह गरिन्। बालिकाहरूले फरक–फरक प्रकृतिका गुनासो गरेमा त्यसलाई गम्भीर रूपमा लिएर यौन दुव्र्यवहारको आशंका गर्नुपर्ने उनले बताइन्।
चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले हाल ७४ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु भइरहेको जनाउँदै, खानपान र जीवनशैली सुधारले ५८ प्रतिशत मधुमेहसमेत निको हुन सक्ने बताए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले विद्यालयस्तरबाट अभिभावकसम्म चेतना पुर्याउन प्रतिष्ठानसँग समझदारी गरिएको जानकारी दिए।
नेपाल सरकारले लिएका संवैधानिक र नीतिगत प्रावधानलाई व्यवहारमा उतार्न प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्नका लागि जागरण र सशक्तीकरण नै प्रभावकारी उपाय भएको बताए। विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैलीबारे सचेत गराउन सके मृत्युदर घट्ने उनले उल्लेख गरे।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित प्रशिक्षक तथा रोस्टर प्रशिक्षकलाई विशेष रूपमा तालिममा सहभागी गराइएको बताए।