रौतहटस्थितको गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।
गौर राइस मिलको जग्गा भूमाफियाको नजरबाट बचाउन प्रधानमन्त्री ओलीसंग माग गरिएको छ ।
एमालेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले हिजो साँझ प्रधानमन्त्री ओली लाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीलाई भेटेर एमाले नेता गुप्ताले गौर राईस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेकोमा तत्काल उक्त जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
ज्ञापनपत्र मार्फत उनले भनेका छन्, ‘भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेका छन्, उक्त जग्गा रोक्का गरी त्यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही होस ।’
गौर राइस मिलको जग्गा बर्षों देखि सार्वजनिक रूपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रूपमा प्रयोग हुँदै आएको छ ।
भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठुलो आथिर्क चलखेल गरी सो जग्गा भागबन्डा गरी खेलमैदानको अस्तित्व नै समाप्त हुने गरी रौतहट वासीका सपनालाई धमिलो पार्ने उद्देश्यका साथ अगाडी बढेकोमा अविलम्ब सो जग्गा बिक्री वितरणमा रोक लगाइनु पर्ने भन्दै ज्ञापनपत्रमा मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
साबिक गौर गाविस वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०–४–१५ ,१४०को ०.१६–०,१६३को ४–१०–० र ८०३ को ०.९.० जग्गा गौरको मुटु भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।