निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगञ्ज र पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि “छात्रवृत्ति कार्यक्रम २०८२” को घोषणा गरेको छ। परिक्षामा सहभागि भई उत्कृष्ट अंक हासिल गर्ने २८ जना विद्यार्थीलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्तिसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ।
शुक्रवार वीरगञ्जस्थित एपेक्स म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले कार्यक्रमको उद्देश्य शैक्षिक अवसर प्रदान गर्नुका साथै आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई उच्च माध्यमिक तहसम्मको अध्ययन सहज बनाउनु रहेको बताए।
प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरूले प्याब्सनद्वारा सञ्चालन गरिने प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा हालै एसईई दिएका सबै विद्यार्थीका लागि खुला गरिएको छ। निजी, सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू सहित नन–ग्रेड एनजी ल्याएका विद्यार्थीहरूले समेत सहभागी हुन पाउनेछन्।
छात्रवृत्तिका लागि आवेदन फारम साउन ६ गतेसम्म प्याब्सन वीरगञ्जको आधिकारिक फेसबुक पेजमार्फत अनलाइन भर्न सकिनेछ। प्रवेश पत्र साउन ८ गते वितरण गरिनेछ भने परीक्षा साउन १० गते प्याब्सनअन्तर्गतका १० वटा विद्यालयमा सञ्चालन हुने छ।
परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः ल्यापटप, ट्याब र पोसाकसहित दुई वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। साथै, उत्कृष्ट २८ जनाभित्र नपरेका तर राम्रो अङ्क ल्याउने विद्यार्थीहरूलाई साइन्स स्ट्रीममा रु १५ हजार र म्यानेजमेन्टमा रु ५ हजार बराबरको छुट दिइनेछ। छात्राहरूलाई थप रु २ हजार छुटको व्यवस्था गरिएको छ।
प्याब्सन वीरगञ्जअन्तर्गत छात्रवृत्ति प्रदान गर्ने विद्यालयहरूमा मिनिल्याण्ड सेकेन्डरी स्कुल, हिमालयन पिरामिड्स, वीरगञ्ज कलेज प्रालि, म्यास्कट एकेडेमी, ज्ञानदा एकेडेमी, वीरगञ्ज इङ्ग्लिस पब्लिक स्कुल, ओम नेशनल एकेडेमी, वीरगञ्ज पब्लिक कलेज, सनलाइट सेकेन्डरी स्कुल र सिद्धार्थ नेशनल स्कुल रहेका छन्। प्रत्येक विद्यालयबाट कम्तीमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, एपेक्स कलेजका डा. दिपेन्द्र चौधरी तथा साउथ जोन प्याब्सनका अध्यक्ष सरोज चौधरीले छात्रवृत्ति अभियानले वीरगञ्ज क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न थप उत्प्रेरणा दिने धारणा व्यक्त गरे।कार्यक्रममा प्याब्सन पर्साका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।