विद्यार्थीहरुको पठनपाठनमा लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको शैक्षिक गतिविधि आइतबारदेखि नियमित गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) महानगर कमिटीले बिधालय खोल्ने निर्णय गरे संगै विद्यार्थीहरु उत्साहजनक सहभागी भएको अध्यक्ष राहुल श्रीवास्तले जानकारी दिनुभएको छ।विद्यार्थीहरुलाई धेरै दिन एकैठाउमा रहिरहने भएकोले उसको मनस्थितिमा समेत असर पर्ने भएकोले आइतबार देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
कोरोना महामारीपछि हैजाको प्रकोप, अनि पछिल्ला दिनमा जेनजी युवाहरुको आन्दोलनका कारण पटक–पटक विद्यालय बन्द हुनुपर्दा विद्यार्थीहरुको पठनपाठनमा गम्भीर असर परेको भन्दै प्याब्सन महानगर कमिटीले विद्यालय खोल्ने आन्तरिक तयारी तीव्र बनाएको थियो । प्याब्सन महानगरका अध्यक्ष श्रीवास्तवले बताए अनुसार, “लामो समयदेखि अध्ययन अवरुद्ध हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पनि देखिन थालेको र बजार, यातायात ु अन्य सेवा–सुविधा सामान्य अवस्थामा फर्कंदै गएको अवस्थामा अब विद्यालय नखोल्नुको कुनै तुक छैन।”
शैक्षिक सत्रको महत्वपूर्ण समय यसरी नै बित्न थालेपछि अभिभावक र शिक्षक दुवै पक्षले विद्यालय यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिइरहेका छन्। प्याब्सनका अनुसार विद्यार्थीको हितलाई ध्यानमा राख्दै, आवश्यक सुरक्षा र सावधानी अपनाएर विद्यालय सञ्चालन गरिनेछ। प्याब्सन महानगर कमिटीले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र चाँडै नै औपचारिक सूचना सार्वजनिक गरिने जानकारी दिएको छ।
पछिल्ला आन्दोलन र बन्दको प्रभाव
पछिल्ला केही हप्तादेखि जेनजी आन्दोलनका कारण राजधानीका धेरै निजी विद्यालयहरू बन्द गरिएको थियो। यसअघि पनि कोरोना महामारी र हैजाको प्रकोपका कारण विद्यालयहरू पटक–पटक बन्द हुँदा शैक्षिक क्षति अत्यधिक भएको थियो। प्याब्सनले यसअघि पनि अनलाइन कक्षामार्फत् वैकल्पिक शिक्षा दिने प्रयास गरे पनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताएको छ। अब भने सबै पक्षले सामान्य जीवनयापन गर्न थालेका कारण विद्यालय पनि सञ्चालनमा ल्याउनु अपरिहार्य भएको प्याब्सनको भनाइ छ।
विद्यालय खोल्ने निर्णयप्रति अभिभावकहरुले समर्थन जनाएका छन् भने केहीले अझै पनि सावधानी अपनाउनुपर्ने भन्दै चासो व्यक्त गरेका छन्। “पढाइ त अवरुद्ध भयो, तर अहिले आन्दोलन पूर्ण रूपमा रोकिएको छैन, त्यसैले सुरक्षाको ख्याल राख्नुपर्छ,” एक अभिभावकले भने। प्याब्सनले भने शान्तिपूर्ण र अनुशासित ढंगले कक्षा सञ्चालन गरिने र आवश्यक परेमा समय तालिका समायोजन गरेर समेत पठनपाठनलाई ट्र्याकमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
प्याब्सनको यो तयारीलाई सकारात्मक रूपमा लिँदै शैक्षिक संस्थाहरू पुनः सञ्चालनतर्फ अग्रसर भएका छन्। अब भने सबैको साथ र सहयोगमा विद्यार्थीको पढाइलाई पुनः लयमा ल्याउन सकिने अपेक्षा प्याब्सन महानगर कमिटीले गरेको छ। लामो समयदेखि बिधालय बन्द र विद्यार्थीहरुको पठनपाठनमा समेत धेरै असर पर्ने भएकोले यो रणनीति अपनाउनु परेको प्याब्सन महानगर कमिटीका अध्यक्ष श्रीवास्तवले बताएका छन् ।बिधालय बन्द राख्नु भनेको विद्यार्थीहरुको भबिस्य माथि खेलवाड गर्नु हो हामीले बेलामा सचेत हुन जरुरी रहेको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ।