वीरगञ्ज– वीरगंज महानगरपालिका वडा नम्बर ११ स्थित कृषि ज्ञान केन्द्र पछाडि रहेको डोम बस्तीमा हालै परेको अविरल वर्षाका कारण डुबान भएपछि सामाजिक संस्था जिल्ला समन्वय समिति (NGO Coordination Committee - NGO CC) पर्साले पीडितलाई राहतस्वरूप खाद्यान्न वितरण गरेको छ।
शनिबार र आइतबार परेको लगातारको झरीले सो क्षेत्रको डोम बस्तीमा घरभित्रै पानी पसेको थियो। यस डुबानका कारण बस्तीका धेरै घरधुरीको खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायतका सामग्री बगाएर लगेको छ। प्राकृतिक प्रकोपले अस्तव्यस्त बनेका स्थानीय बासिन्दाहरूलाई केही राहत मिलोस् भनेर मंगलबार NGOCC पर्साले ३० घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरेको हो।
राहत वितरण कार्यक्रम NGOCC पर्साका जिन्सी प्रमुख दुलारचन्द प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको हो। बस्तीमा पुगेर खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । दुलारचन्द साहले वितरणका क्रममा स्थानीयहरूसँग संवाद गर्दै डुबानले पानी प्रदूषित भएकाले उमालेर मात्र पानी पिउन आग्रह गरे। साथै, हाल डोम बस्तीमा हैजा फैलन सक्ने जोखिम रहेकाले खानु अघि हातमुख राम्ररी सफा गर्न पनि सुझाव दिए।
उनले भने, “अहिले सबैभन्दा बढी ध्यान स्वास्थ्य र सरसफाइमा दिनु आवश्यक छ। हैजा लगायतका महामारी फैलन सक्ने सम्भावना भएकाले उमालेर पानी पिउनुहोस् र सधैं सफा सँगै बस्नुहोस्।” भनेर साहले बताएका हुन । स्थानीय बासिन्दाहरूलाई राहत पाएपछि सामाजिक संस्थाप्रति आभार व्यक्त गरेका छन्। बाढीले सबैथोक गुमाएका बेला प्राप्त खाद्यान्नले उनीहरूलाई केही राहत मिलेको विनोद मलीले बताएका छन्।
सामाजिक संस्था जिल्ला समन्वय समितिले यो केही तत्काल राहत बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई सहयोग पुर्याउने काममा मद्दत पुग्ने जिन्सी प्रमुख साहले बताएका छन्। समितिले आगामी दिनहरुमा थप राहत कार्यक्रम अन्य संस्था संग समन्वय गरेर राहत वितरण गर्ने र अहिले बादी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर उमालेर पानी खान र हैजा सम्बन्धि सचेतनामूलक अभियान अहिले विभिन्न ११ वटा वडाहरुमा सञ्चालन गदै आइरहेको जानकारी समेत दिएका छन् ।
राहत वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्देश चौहान, गुडी कुमारी साह, प्रिया कुशवाहा, आनन्द कुमार यादव , नन्दनी गुप्ता, सन्तोष साह, आरति कुमारी, शिवशंकर प्रसाद साह, असइ लालबाबु साह, हवल्दार कृष्ण प्रसाद यादव लगायतको उपस्थित रहेको थियो । राहत पाउनेहरु विनोद मली, बद्री मली, दिपक मली, विश्ववनाथ मली, भुवर मली, सुरेन्द्र मेस्तर, बैधनाथ मली, गोलु मली, गजेन्द्र मेस्तर, मुकेश मेस्तर, सुरेश मेस्तर, करण मेस्तर, राधा मारुती ,सामलाल मली, रमेश मली, विजय थापा लगायत ३० घर परिवारलाई वितरण गरिएको छ।