विश्व रेडियोलोजी दिवस विश्वभर मनाउने क्रममा बीरगंजमा पनि भब्य रुपमा मनाएको छ। हरेक वर्ष नोभेम्बर ८ मा विश्वभर विश्व रेडियोलोजी दिवस मनाउदै आइरहेको छ यस वर्ष पनि जनस्वास्थ्य क्षेत्रमा रेडियोलोजीको महत्वबारे जनचेतना फैलाउनु र रेडियोलोजी प्रविधिका क्षेत्रमा भएका प्राविधिक प्रगतिहरूलाई सम्मान गर्नु हो। नेपालमा पनि विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूले यो दिवस मनाउँदै आएका छन्।
नेपाल रेडियोलोजिकल सोसाइटी (Nepal Radiological Society) मधेस प्रदेश को आयोजनामा बिरगंजको नारायणी अस्पतालमा अन्तरक्रिया र केक काटी रेडियोलोजी दिवस मनाइएको मधेस प्रदेशका अध्यक्ष प्रदिप साहले जानकारी दिएका छन् ।उनले बताए अनुसार कार्यक्रममा स्वास्थ्यकर्मी, प्राविधिक, विद्यार्थी तथा चिकित्सकहरूको उल्लेखनीय सक्रिय सहभागिता रहेको बताए । कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष प्रदिप साहले केक काटी रेडियोलोजिकमा काम गर्ने चिकित्सक एवम् प्राविधिकहरुलाई दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
कार्यक्रममा वक्ताहरूले आधुनिक स्वास्थ्य सेवा क्षेत्रमा रेडियोलोजीको भूमिका अपरिहार्य रहेको बताउँदै यस प्रविधिबिना रोगको सटीक निदान असम्भव हुने बताएका थिए उनीहरूले रेडियोलोजी प्राविधिक तथा चिकित्सकहरूको योगदानको उच्च प्रशंसा समेत गरेका हुन ।
दिवसको अवसरमा वीरगन्ज लगायत देशका विभिन्न अस्पतालहरूमा रेडियोलोजी प्रविधि, एक्स–रे, सिटी–स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड लगायतका आधुनिक स्वास्थ्य प्रविधिबारे सचेतना कार्यक्रम, अन्तरक्रिया र स्वास्थ्य गोष्ठीहरू आयोजना गरि मनाएको छ।सन् १८९५ जर्मनीका वैज्ञानिक विल्हेल्म रोएन्टजेनले एक्स–रेको आविष्कार गरेपछि आधुनिक चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात भएको मानिन्छ। रेडियोलोजी प्रविधिले रोगको सही निदान, उपचार योजना तय गर्न, र बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ।
आजका दिनमा रेडियोलोजी बिना अस्पतालको उपचार प्रणाली अपूर्ण हुन्छ। बिरामीको छाती, हड्डी, मस्तिष्क, मुटु, पेट लगायत अंगहरूमा समस्या पत्ता लगाउन एक्स–रे, सिटी–स्क्यान, एमआरआई जस्ता उपकरणहरू प्रयोग गरिन्छ। रेडियोलोजी प्राविधिकहरूले अत्याधुनिक उपकरण सञ्चालन, रिपोर्ट तयार पार्ने, र चिकित्सकलाई रोगको सही पहिचानमा सहयोग गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। आधुनिक रेडियोलोजी सेवाले देशको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन उल्लेखनीय योगदान दिइरहेको छ। विश्व रेडियोलोजी दिवसले स्वास्थ्य सेवा क्षेत्रमा रेडियोलोजी शाखाको योगदानको कदर गदै जानुपर्ने बताएका छन् ।