ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बीरगंजको आयोजनामा शनिबार केन्द्रकै आफ्नै भवनमा स्वर्ण जयन्तीको शुभ अवसरमा स्वर्ण महोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहले संस्थाको पाँच दशकको योगदान, सेवा र आध्यात्मिक यात्रालाई स्मरण गर्दै शान्ति, सद्भाव र आत्म उन्नतिको सन्देश विस्तार गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा। राज दिदीले दीप प्रज्वलन गरी महोत्सवको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।
उहाँले उद्घाटन गर्दै बीरगंज क्षेत्रमा छोटो समयमा केन्द्रले उल्लेखनीय उपलब्धि हासिल गर्नुमा सबै स्थानीय सहयोगी, साधक तथा स्वयंसेवकको महत्वपूर्ण हात रहेको बताउनुभयो। डा। राज दिदीले ब्रह्माकुमारी संस्थाले समाजमा शान्ति, सकारात्मकता र मानवीय मूल्यहरू प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै भनिन्, “यो संस्था सबैलाई शान्ति प्रदान गर्ने माध्यम हो। सबैलाई अटाउने, सबल र सुसंस्कृत समाज निर्माण गर्ने हाम्रो उद्देश्य हो।” उहाँले केन्द्रले अघि बढाएको राजयोग ध्यान, आत्म–परिवर्तन तथा सामाजिक सेवा कार्यक्रमले धेरैलाई प्रेरित गर्दै आइरहेको बताउनुभयो।
कार्यक्रममा स्थानीय समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजयोग साधक तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। उपस्थित सहभागीहरूले स्वर्ण जयन्ती महोत्सवले ब्रह्माकुमारी परिवारको यात्रालाई अझ सुदृढ बनाउने तथा बीरगंज क्षेत्रमा शान्ति र आध्यात्मिक जागरण फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। महोत्सवका क्रममा सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन, ध्यान सत्र तथा संस्थाको ५० वर्षको ऐतिहासिक यात्रासम्बन्धी भिडियो प्रदर्शनी समेत गरिएको थियो। कार्यक्रम अन्त्यमा आगन्तुक अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा कार्यक्रममार्फत समाजमा योगदान पुर्याइने जानकारी गराइएको थियो।
ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्रको क्षेत्रीय संचालिका रबिना दिदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।उद्घाटन समारोहमा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम ,भारतीय महावाणिज्यदूतबासकासहाय मीना,सहनिर्देशका किरण दिदी ,गुणराज भाइ,गोकुल भाइ,जितेन्द्र भाइ,छोटेलाल भाइ लगायत भारत तथा नेपालको हरेक जिल्लाहरुबाट उल्लेखनीय सहभागी रहेको छ।