गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बीरगंजको घण्टाघर–लिङ्ग रोडमा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले प्रत्येक वर्षजस्तै यस वर्ष पनि रक्तदानमार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रमका अध्यक्ष तथा बैंकका मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको स्थानमा पुर्याउन सहयोग गर्ने सबै ग्राहक, संस्थागत साझेदार र आम नागरिकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन समारोह बीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले गर्नुभयो। उहाँले बैंकिङ क्षेत्रमा जनताको विश्वास अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै, “जनताको काम छिटो, सजिलो र पारदर्शी ढंगले सम्पन्न गर्नुपर्छ, बैंकले यही दिशामा सेवा विस्तार गर्नुपर्छ,” भन्नुभयो।
कार्यक्रममा लायन्स क्लबका पीडीजी देवकी नन्दन अग्रवाल, जीवन ज्योति स्कूलका निर्देशक शिवजी गुप्ता, एन–प्याब्सन अध्यक्ष राम श्रेष्ठ, जीवन ज्योति स्कूलका संचालक निखिल गुप्ता लगायत विभिन्न क्षेत्रका समाजसेवी, उद्योगी–व्यवसायीहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व दिएको थियो।
रक्तदान कार्यक्रममा निखिल गुप्ता, आरती उपाध्याय, अंकिता प्रधान, अन्जु भट्ट क्षेत्री, मन्टु साह, बिक्की कुशवाहालगायत धेरै स्वयंसेवकले रक्तदान गरे। रक्त संकलन तथा प्राविधिक व्यवस्थापन रक्त सञ्चार केन्द्र, बीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा भएको थियो। कुशवाहाका अनुसार संकलित रगतले स्थानीय स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूलाई ठूलो सहयोग पुग्नेछ।
कार्यक्रमको स्वागत मन्तव्य बैंकको बीरगंज शाखाका प्रबन्धक राजीव कुमार झाले प्रस्तुत गर्दै बैंकले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने जानकारी दिनुभयो।
बैंकका अनुसार वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा वित्तीय कारोबारसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र मानवसेवामा योगदान पुर्याउने उद्देश्य रहेको छ।