बीरगंज महानगरपालिका–१३ स्थित साउथ जोन माध्यमिक विद्यालयको आयोजनामा मंगलबार कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी एक महत्वपूर्ण र प्रेरणादायी सेमिनार सम्पन्न भएको छ। विद्यार्थीहरूको भविष्य–निर्माण, लक्ष्य–निर्धारण र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ। सेमिनार साउथ जोन माध्यमिक विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रोलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य तथा समाजसेवी देवेश मानव विशेष वक्ताका रूपमा उपस्थित थिए।

मुख्य वक्ता मानवले जीवनमा लक्ष्य तोक्ने तरिका, लक्ष्यलाई प्राप्त गर्न आवश्यक धैर्य, अनुशासन र लगनशीलता, अनि सकारात्मक सोचको महत्वबारे विस्तृत रूपमा प्रकाश पारे। उनले विद्यार्थीहरूलाई आफ्नो क्षमताप्रति विश्वास राख्न, समयको सही उपयोग गर्न तथा चुनौतीहरूलाई अवसरका रूपमा लिई अघि बढ्न प्रेरित गरे।
उनका प्रेरक वचनहरूबाट विद्यार्थीहरू अत्यन्त प्रभावित देखिन्थे। सेमिनारमा सहभागी धेरै विद्यार्थीहरूले आफ्नो भविष्य कसरी तय गर्ने भन्ने विषयमा थप स्पष्टता र आत्मविश्वास प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए।
कार्यक्रम बीरगंज पब्लिक कलेजको सभा हलमा भव्य रूपमा सम्पन्न भएको थियो। सेमिनारका क्रममा विद्यालय प्रशासनले पनि यस्ता कार्यक्रम विद्यार्थीहरूका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नियमित रूपमा यस्तो कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
सेमिनारको समापन गर्दै सहायक प्रिन्सिपल संग्रोलाले विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गरे। उनले भने, “विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूलाई सही दिशातर्फ अभिमुख गराउनु नै हाम्रो प्रमुख लक्ष्य हो। आजको सेमिनारले उनीहरूमा नयाँ ऊर्जा संचार गरेको छ भन्नेमा हामी ढुक्क छौँ।” सेमिनारको अन्त्यमा वक्ता देवेश मानवलाई विद्यालयतर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो।