वीरगंज– वीरगंज महानगरपालिका वडा नं. ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा शनिबार होटल क्लासिक ब्याङ्कुइटमा सम्पन्न भएको छ।
सभाको अध्यक्षता संस्थाका संचालक समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रममा संस्था वरिष्ठ सल्लाहकार दिपेन्द्र गोविन्द बैधले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक मुन्ना कुमार ठाकुरले संस्थाको वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
प्रतिवेदनअनुसार, यो संस्था २०६७ साल असोज २२ गते ३३ जना सदस्यबाट रु २० लाख बाट सुरु भएको थियो। अहिलेसम्म संस्थामा कुल निक्षेप रु ५ करोड ११ लाख ५ हजार ५२६, संस्थापक शेयरधनी तथा सदस्यहरूको शेयर पूँजी रु ८९ लाख ६७ हजार, र कुल सदस्य संख्या १३२५ पुगेको छ। सदस्यमा पुरुष ७०२ र महिला ६२५ छन्।
संस्थाले अहिलेसम्म कर्जा लगानी रु ६ करोड ७१ हजार गरेको छ भने करपछिको नाफा रु १८ लाख ६४ हजार ९९६, व्यवस्थापछि नाफा रु ६ लाख ७८ हजार ४७९ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
संचालक समितिका सचिव राजेश बहादुर श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्वअनुसार विपन्न वर्गका सक्षम व्यक्तिलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्दै आएको र सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
वार्षिक साधारणसभामा उपाध्यक्ष सुनिल श्रेष्ठ, कोषाध्यक्ष संजय कुमार श्रेष्ठ, महिला सदस्य सुनैना मानन्धर, शेयरधनी तथा बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भने, “हाम्रो उद्देश्य साना–सानो व्यवसाय गर्ने वा दैनिक आम्दानीमा निर्भर गर्ने व्यक्तिहरूको रकम संकलन गरी आवश्यकता परेको बेला सहज उपलब्ध गराउनु हो। आपतकालमा यस रकमले उनीहरूको समस्या समाधान गर्न मद्दत गरोस् भन्ने हाम्रो ध्येय हो।”
कार्यक्रमको सहजिकरण राजेश बहादुर श्रेष्ठले गर्नुभएको थियो। साधारणसभाले नयाँ संचालक समिति चयन गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो।