हिन्दु पत्रकार संघ नेपाल पर्सा जिल्लामा औपचारिक रूपमा गठन भएको छ। आइतबार वीरगञ्जस्थित स्थानीय होटल क्लासिक बैंकमा आयोजित भेलाले राजन रौनियारको अध्यक्षतामा १६ सदस्यीय तदर्थ जिल्ला कार्यसमिति गठन गरेको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले नवनिर्वाचित तदर्थ जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउँदै सबै धर्म, भाषा र संस्कृतिको सम्मान गर्दै पत्रकारितालाई समाज सेवाको माध्यम बनाउने दिशामा संघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, हिन्दु पत्रकार संघ नेपालले पनि समाजमा सकारात्मक र रचनात्मक काम गर्दै पत्रकारिताको गरिमा उच्च राख्ने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले नवगठित संघका पदाधिकारीहरूलाई कार्यकालको सफलताको शुभकामना दिँदै समाजप्रतिको जिम्मेवारी बोधका साथ काम गर्न सुझाव दिनुभयो। उहाँले पत्रकारहरू सत्य–तथ्य लेखनमा प्रतिबद्ध रहनुका साथै कुनै पनि पक्षप्रति पूर्वाग्रह नराखी निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
नवगठित तदर्थ जिल्ला कार्यसमितिमा अध्यक्ष राजन रौनियारसहित उपाध्यक्षद्वय विनोद गुप्ता र बिमला गुप्ता चयन भएका छन्। सचिवमा राजकुमार सरार्फ, कोषाध्यक्षमा आनन्द पटेल रहेका छन्। सदस्यहरूमा राकेश साह, रसमिराज भण्डारी, अर्जुन चौधरी, अभिलाषा गुप्ता, अनिल ओझा, सन्तोष कुशवाहा, संजय कुशवाहा, अजय चौरसिया, रवि बर्णवाल, राजु बैठा र त्रिलोकी पटेल चयन भएका छन्।
यसैगरी, संघका सल्लाहकारहरूमा निरन्जन मिश्र, आरोहण साह, एस।के। चौरसिया, रितेष झा, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन्। कार्यक्रममा हिन्दु भावनासँग सम्बन्धित विभिन्न संघ–संस्थाका जिम्मेवार व्यक्तिहरू तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले हिन्दु पत्रकार संघ नेपाल पर्साले पत्रकारहरूको हक–हित संरक्षण, पेशागत क्षमता अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए।