निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साको आयोजनामा पर्सास्तरीय टी–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ।
यस विषयमा जानकारी दिन प्याब्सन पर्सा ले बुधबार वीरगञ्जस्थित टिभी शाह क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा प्याब्सन पर्साका अध्यक्ष प्रसाद चौधरीले विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत सर्वाङ्गीण विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्याब्सन पर्साका सचिव अशोक संग्रौलाका अनुसार यो दशौँ संस्करणको क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताअन्तर्गत टी–२० नकआउट क्रिकेटमा ४० वटा विद्यालय र जुनियर फुटबल प्रतियोगितामा २१ वटा विद्यालय सहभागी भएका छन्।
क्रिकेट प्रतियोगिता बिहीबारदेखि माघ २४ गतेसम्म सञ्चालन हुनेछ भने जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि १७ गतेसम्म मधेस प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने जनाइएको छ।
सचिव संग्रौलाले निजी विद्यालयहरूले विद्यार्थीहरूको सान्दर्भिक विकासका लागि खेलकुद, हस्तकला, संगीत तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिँदै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित प्याब्सनले एउटा सशक्त प्लेटफर्म तयार गरिरहेको बताए। प्रतियोगिताका विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय परिषद् सदस्य डा। हरिशंकर शाह, केन्द्रीय सदस्य छेदुप लामा, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, प्रदेश सल्लाहकार श्याम केसी अहमद, पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महानगर सचिव अमित आलोक, जिल्ला कार्यसमिति सदस्य सुलभ केसी, फजेल अहमद, कोषाध्यक्ष प्रवीन चौधरीलगायतको उपस्थिति रहेको थियो।