वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ बिर्तास्थित न्यू वेभ माध्यमिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरूबीच आयोजित इन्टरहाउस ब्याडमिन्टन प्रतियोगिता आज एक समारोहबीच सम्पन्न भएको छ।
न्यू वेभ माध्यमिक विद्यालयका डाइरेक्टर मेनु प्रधानको सभापतित्व तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण क्षमता विकासका लागि यस्ता अतिरिक्त खेलकुद कार्यक्रम आयोजना गर्नु अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको बताए। शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले ब्याडमिन्टन, भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, चित्रकला, हस्तकला तथा नृत्यजस्ता गतिविधिहरूले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्न मद्दत गर्ने बताए।
उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। आगामी दिनहरूमा पनि शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै अघि बढ्न विद्यालयलाई सुझावसमेत दिए।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक सुभाष प्रधानले विद्यार्थीहरूको भविष्य निर्माणका लागि निजी विद्यालयले सानै उमेरदेखि अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको र आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा अन्य सिर्जनात्मक क्षेत्रमा पूर्ण रूपमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
इन्टरहाउस ब्याडमिन्टन प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीहरूलाई सिल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम, विद्यालयका डिके शाह, सूर्य प्रधान, छवेन्द्र चौधरी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।