वीरगञ्ज — वीरगंज पब्लिक कलेजको सभा हलमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ। पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डाक्टर विनय श्रेष्ठले नेपालको शैक्षिक संस्थाहरूलाई विश्वस्तरीय अनुसन्धान तथा ज्ञान आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिए।
क्याम्पस प्रमुख श्रेष्ठका अनुसार सम्मेलनमा नेपालसहित चार अन्तर्राष्ट्रिय देशका प्राध्यापक, अनुसन्धानकर्ता, नीतिनिर्माता, उद्योगी–व्यवसायी तथा विद्यार्थी गरी करिब १८० जनाको सहभागिता रहनेछ। विद्यार्थीहरूलाई व्यवस्थापन अभ्यासमा देखिएका नयाँ प्रवृत्ति, प्रविधिगत रूपान्तरण, दिगोपन तथा भविष्यको रोजगारी संरचनाबारे शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्य सम्मेलनले राखेको उनले बताए।
सम्मेलनले व्यवस्थापन, सूचना प्रविधि तथा उद्यमशीलताको क्षेत्रमा अध्ययन–अनुसन्धानलाई नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ। प्रस्तुत गरिने अनुसन्धानपत्रहरूले भविष्यको कार्य परिवेश, डिजिटल रूपान्तरण, हरित अर्थतन्त्र तथा दिगो व्यवस्थापन अभ्यासबारे व्यवहारिक ज्ञान दिने अपेक्षा गरिएको छ।
दुई दिने सम्मेलनअन्तर्गत विद्यार्थी तथा युवा अनुसन्धानकर्ताका लागि विशेष सत्र, अनुसन्धानपत्र प्रकाशन तथा उत्कृष्ट अनुसन्धानपत्र छनोट कार्यक्रमसमेत सञ्चालन गरिनेछ। कलेजले गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय शैक्षिक नेटवर्क विस्तार गर्ने तथा व्यवस्थापन अभ्यासमा नवीन सोच प्रवर्द्धन गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख श्रेष्ठले बताए।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जयकिशन सहनी, एसोसिएट प्रोफेसर वीरेन्द्र यादव, लक्ष्मण कुँवर तथा डा.अब्दुल रहमानलगायतको उपस्थिति रहेको थियो।