वीरगञ्ज — शस्त्र प्रहरी गण नं. १३ पर्सा, वीरगञ्ज तथा वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय र सहयोगमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकाका चार जना शारीरिक अपाङ्गता भएका तथा हिडडुल गर्न नसक्ने व्यक्तिहरूलाई घरघरमै पुगेर व्हिलचेयर प्रदान गरिएको छ।
यस कार्यक्रमअन्तर्गत जिराभवानी गाउँपालिका वडा नं. १ पकडीटोला निवासी ६२ वर्षीय प्रेम चौधरीलाई घरमै पुगेर व्हिलचेयर सहयोग गरिएको छ। उनी कामको सिलसिलामा गाईबस्तुका लागि रुखमा चढी घाँस काट्ने क्रममा लडेर स्पाइनल कोर्ड इन्जुरी भई पूर्ण रूपमा शारीरिक अपाङ्ग भएका हुन्। विगत दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य रहेका उनको परिवार आर्थिक रूपमा पनि कठिन अवस्थामा रहेको जानकारी पाएपछि शस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री स्वयं उनको घरमै पुगेर सहयोग प्रदान गरेका हुन्।
त्यस्तै, सोही गाउँपालिका वडा नं. २ सेढवा निवासी ३५ वर्षीय विनोद दास थारु, जो जन्मजात रूपमा तल्लो भाग चलाउन नसक्ने अवस्थामा छन्, उनलाई पनि घरमै पुगेर व्हिलचेयर प्रदान गरिएको छ।
यसैगरी, धोबनी गाउँपालिका वडा नं. ५ धोबनी निवासी ४२ वर्षीय मनबोध चौधरी ‘मलाह’ रोगका कारण हिडडुल गर्न असमर्थ भएपछि उनलाई समेत घरमै पुगेर व्हिलचेयर सहयोग गरिएको छ।
बिन्दबासिनी गाउँपालिका वडा नं. ३ झौवा निवासी १० वर्षीय आलोक कुमार राम, जो जन्मजात अपाङ्गता भएका बालक हुन्, उनलाई पनि घरमै पुगेर व्हिलचेयर उपलब्ध गराइएको छ।
व्हिलचेयर हस्तान्तरण कार्यक्रममा शस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री, बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खडका, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षहरू रामशरण खवास र मनौवर अहमद लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शस्त्र प्रहरी गण नं. १३ ले यसअघि पनि विभिन्न दुर्गम क्षेत्रहरूमा पुगेर असहाय तथा विपन्न नागरिकहरूलाई आवश्यक सहयोग प्रदान गर्दै आएको बताइएको छ।