वीरगञ्ज । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता एवं व्यवस्थापकहरूको क्षमता सहकारी संस्थामा एकरूपता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम माईस्थान मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो।
रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ९ महिला सहित कुल ६१ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौतरियाको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले को–अपरेटिभ म्यानेजर्स क्लब पर्साले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले रगतदान जस्तो मानवीय कार्यमा क्लबको सक्रियता सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिन आग्रह गरे। साथै, सहकारी संस्थाहरूले बचतकर्ताको रकम व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा रवि भूषण श्रीवास्तव, अशोक कुमार, आरती सिंह, सुमित्रा, मुस्कान कुमारी, इन्दु रञ्जितकार, दीपिका श्रेष्ठ, इस्यु श्रेष्ठ, अमिता प्रधान, राजु लामा, सोनम श्रेष्ठ, नारायण सिंह, अनिल पटेल, अशोक चौधरी, आर्यन मण्डल लगायतले रक्तदान गरेका थिए।
कार्यक्रममा क्लबका उपाध्यक्ष रामबाबु चौधरी, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर, राजेन्द्र जैसवाल, डिके जैसवाल, नेपाल रेकर्ड सोसाइटी पर्साका अध्यक्ष ब्रिजकिशोर पटेल, जिल्ला बचत ऋण सहकारी सङ्घका अध्यक्ष हरेराम पटेल लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी, कार्यकारी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभ पाण्डेको नेतृत्वमा नितेश यादव, मिथिले शाह, सन्तोष पटेल, सन्नी यादव, राजेन्द्र भट्टराई लगायतको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।