वीरगञ्ज, चैत्र ३० — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा ‘लिगेसी अवार्ड २०८२’ कार्यक्रम वीरगञ्जस्थित एक होटलमा भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा क्षेत्र तथा प्याब्सनलाई उच्चाइसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूलाई समारोहबीच सम्मान गरिएको हो।
प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीका अनुसार शिक्षा क्षेत्रसँगै संस्थालाई सुदृढ बनाउन विशेष भूमिका खेलेका तीन जना व्यक्तित्वलाई यस वर्ष ‘लिगेसी अवार्ड’ प्रदान गरिएको हो।
अवार्डबाट मनीकुमार लामा सम्मानित भएका छन्, जो वीरगञ्जस्थित लिटल एन्जल्स विद्यालयका संस्थापक हुन्। त्यसैगरी प्याब्सनका केन्द्रीय सदस्य लालबाबु प्रसाद कुर्मी र प्याब्सन पर्साका श्यामकुमार केसी पनि सोही अवार्डबाट सम्मानित भएका छन्।
निजी विद्यालय क्षेत्रको विकास र विस्तारमा उनीहरूले पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्व रहेको थियो। प्रमुख अतिथिका रूपमा पशुपति विक्रम साह र उषा देवी साहको उपस्थिति रहेको थियो। साथै मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, डा. हरिशंकर साह, प्याब्सनका केन्द्रीय सदस्य छेदोप लामा, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, शिक्षा शाखा प्रमुख आनन्द लामिछाने, महानगर उपाध्यक्ष हरिश्याम ठाकुर, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेश प्रदेश उपाध्यक्ष पुराण प्रधान, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहलगायत विभिन्न निजी विद्यालयका सञ्चालकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।