वीरगञ्ज — दिव्य विकास स्रोत केन्द्र, कालिकामाई गाउँपालिका–६ बिरन्चिबर्वा (पर्सा) को आयोजना तथा पटेर्वा सुगौली गाउँपालिका र एक्सन एडको साझेदारीमा हिजो (सोमबार) “स्थानीय अधिकार कार्यक्रम( LRp-38) अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवाल तथा चुनौतीहरू विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दिव्य विकास स्रोत केन्द्रका महासचिव सोनालाल राउतको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले महिला श्रमिकहरूले पनि पुरुष सरह ज्यालादारी पाउनुपर्नेमा जोड दिएका छन्। उनले श्रमिक ऐनअनुसार न्यूनतम १९ हजार ५०० रुपैयाँ पारिश्रमिक निर्धारण भए पनि कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले स्वागत मन्तव्य राख्दै श्रमिकहरूको हकहितका लागि विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए। उनले सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा श्रमिक अधिकारप्रति प्रतिबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। साथै, महिला श्रमिकहरूको समस्या बढी रहेको उल्लेख गर्दै सीपमूलक तालिममार्फत आयआर्जनका अवसर सिर्जना गरिएको पनि जानकारी गराए।
कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिल्ला समन्वय समिति महासचिव अनन्तकुमार श्रेष्ठ, दलित महिला सङ्घका अध्यक्ष निलाराम लगायतले श्रमिक अधिकार र चुनौतीबारे आ-आफ्ना धारणा राखेका थिए। श्रमिक प्रतिनिधिहरू आमना खातुन, लालमती देवी, संगीता देवी, जानकी चौधरी लगायतले पनि आफ्ना अनुभव प्रस्तुत गरेका थिए।
दिव्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रिना चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महतोले गरेकी थिइन्।