वीरगञ्ज । युवा नेपाल सङ्घको आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सहयोगमा एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले महिलाहरू तथा युवा युवतीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको बताए । उनले सिलाई कटाई तालिमबाट सहभागीहरूले सीप सिकेर घरपरिवारको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा युवाहरूका लागि कम्प्युटर, लोकसेवा, ब्युटिसियन, डल बनाउने लगायतका विभिन्न तालिम सञ्चालन गरिएको उल्लेख गर्दै सबैलाई सीपमार्फत दक्ष बनाउने लक्ष्य रहेको बताए । उनले तालिमको भरपुर फाइदा उठाउन महिला तथा युवाहरूलाई आग्रह गरे ।
तालिममा २० जना महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिम समापनपछि सहभागीहरूलाई निःशुल्क सिलाईकटाई मेसिन समेत वितरण गरिनेछ ।
कार्यक्रममा बोल्दै युवा नेपाल सङ्घकी उपाध्यक्ष सोनाली सावाले तालिम केवल मेसिन प्राप्त गर्ने उद्देश्यका लागि मात्र नभई आत्मनिर्भर बन्ने अवसरका रूपमा लिनुपर्ने बताइन् । महिलाहरू आर्थिक रूपमा सक्षम भए घरपरिवार सञ्चालनमा सहज हुने उनको भनाइ थियो ।
तालिम उद्घाटन कार्यक्रममा वडा सचिव मेघराज श्रेष्ठ, वडा सदस्यहरू नन्दकिशोर चौहान, लालबाबु प्रसाद कलवार, गीता मानन्दर, सोनी पासवान, नेपाल महिला विकास सङ्घकी अध्यक्ष मेनु देवी रौनियार, युवा नेपाल सङ्घका कोषाध्यक्ष शिवशंकर श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिम अवधिभर स्नेहा लत्ताले प्रशिक्षण दिनेछिन् भने कार्यक्रमको सहजीकरण ममता कुमारीले गरेकी थिइन् ।