वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित बिपिएस प्लस +2 कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको विदाई समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय होटल भिसुवामा आयोजित समारोह कलेजका डाइरेक्टर दीपक पटेलको सभापतित्व तथा जनपथ प्रहरी कार्यालय मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले मात्र सम्भव नहुने बताउँदै सबै तह र तप्काका नागरिकको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले अपराध नियन्त्रण तथा समाजमा अमनचयन कायम गर्न सामूहिक जिम्मेवारी र सचेतनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
उहाँले विद्यार्थी जीवन केवल अध्ययनमा सीमित नहुने भन्दै अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्व रहेको बताउनुभयो। हालै सार्वजनिक भएका परीक्षा नतिजापछि केही विद्यार्थीहरूले आत्महत्या जस्तो दुःखद कदम चालेको घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरूमा काउन्सेलिङको आवश्यकता औंल्याउनुभयो। अभिभावक, शिक्षक–शिक्षिका तथा समाज सबैले बालबालिकाको मानसिक अवस्था बुझ्न र समयमै उचित मार्गदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, १५ देखि ३० वर्ष उमेर समूहका युवा–युवतीहरू लागू पदार्थ दुर्व्यसनमा बढी संलग्न भइरहेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधि रोक्न समयमै सचेतना आवश्यक रहेको बताउनुभयो। विदेश अध्ययन, रोजगारी वा भ्रमणका लागि जाने क्रममा प्रहरी रिपोर्ट अनिवार्य हुने भएकाले कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुन विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रभात मेहताले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे कलेजका सञ्चालक सन्दीप कुशवाहाले प्रकाश पार्नुभएको थियो।
समारोहमा अनिल वर्णवाल, हरेन्द्र कुशवाहा, गायक सुनिल पण्डित लगायत शिक्षक–शिक्षिकाहरूको विशेष उपस्थिति रहेको थियो। कलेजका डाइरेक्टर दीपक पटेल तथा सञ्चालक सन्दीप कुशवाहाले विद्यार्थीहरूलाई मायाको चिनोसहित सम्मान गरेका थिए।
विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण विद्यार्थी द्वय इश्राना खातुन र शुधान्जली मेहताले गर्नुभएको थियो।