वीरगञ्ज, शिवाश डेभलपमेन्ट एण्ड स्किल प्राली धोविनी–३, पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आजदेखि एक महिने मैनबत्ती तथा अगरबत्ती बनाउने तालिम सुरु भएको छ।
शिवाश डेभलपमेन्ट एण्ड स्किल प्रालिका अध्यक्ष सुरेश प्रसाद पटेलको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष अजय चौरसियाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसियाले तालिमलाई गम्भीरतापूर्वक लिएर ध्यान दिएर सीप सिक्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
उहाँले तालिम केवल व्यक्तिगत विकासका लागि मात्र नभई समाजका लागि पनि उपलब्धिमूलक हुने बताउँदै सीप सिकेर आयआर्जनमा टेवा पुर्याउन सकिने धारणा राख्नुभयो। वडाध्यक्ष चौरसियाले आफ्नो वडाका महिला तथा युवा–युवतीहरू बेरोजगार नबनून् भन्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार वडाबाट ब्युटिसियन, कम्प्युटर, सिलाइकटाइ तथा निःशुल्क लोकसेवा तयारी कक्षाजस्ता तालिमहरू सञ्चालन हुँदै आएका छन्। यस्ता तालिमबाट सहभागीहरूले भरपुर उपलब्धि हासिल गरी आत्मनिर्भर बन्न सकून् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा पत्रकार जगत राईले वडाले सञ्चालन गरेका तालिमहरू केवल देखावटी नभई आत्मनिर्भर बन्ने आधार भएको उल्लेख गर्नुभयो। उहाँले सीप सिकेर घरपरिवार सञ्चालन गर्न र अरूलाई समेत दक्ष बनाउन सके समाजमा बेरोजगारी घटाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
वडा स्तरीय बजेटबाट नागरिकलाई सीपमूलक तालिम प्रदान गर्नु सराहनीय कार्य भएको बताउँदै राईले तालिममा सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण सुनेश्वर प्रसाद शाहले गर्नुभएको थियो।