वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित जीवन ज्योति स्कुल मा निर्वाचन प्रणालीमार्फत चयन भएका हेड गर्ल, हेड ब्वाय तथा हाउस क्याप्टेनहरूको सपथ ग्रहण तथा गोपनीयता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सपथ ग्रहण गराउँदै विद्यालयमा अनुशासन, जिम्मेवारी र नेतृत्व क्षमताको विकास गर्न आग्रह गरे। उनले विद्यार्थीहरूले व्यक्त गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै विद्यालयको नियम तथा पद्धतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
उनले विद्यार्थी जीवनमा कम अंक प्राप्त हुँदा निराश नहुन आग्रह गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर संघर्ष गर्नुपर्ने धारणा राखे। पछिल्लो समय आवेगमा आएर आत्महत्याजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई अभिभावकको सपना र आफ्नो उद्देश्य पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न सुझाव दिए।
विद्यालयका प्रिन्सिपल शिवजी प्रसाद गुप्ताले विद्यालयमा हरेक वर्ष निर्वाचन प्रणालीमार्फत विद्यार्थी नेतृत्व चयन गर्दै आएको जानकारी दिए। यसबाट विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन र जिम्मेवारीबोध बढ्ने विश्वास व्यक्त गरे।
विद्यालयकी सञ्चालिका मीनाक्षी गुप्ताले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र जीवनोपयोगी ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताइन्।
कार्यक्रममा रामनारायण कुर्मी, देवेश गुप्ता लगायतले शुभकामना मन्तव्य दिएका थिए।
२०८३ सालका लागि निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले एक वर्षसम्म विद्यालयको नियम कानुन कार्यान्वयन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाइएको छ। कार्यक्रममा स्वागत मन्तव्य प्रिया सिंहले राखेकी थिइन् भने सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।